नेपालगन्ज म्याराथनलाई खेल उत्सवको रुपमा स्थापित गर्ने प्रयास गर्नेछौंः भीम ओली
Friday, November 20th, 2026, 10:13 pm
Kalpristha
नेपालमा दौड संस्कृतिको विकास गर्दै एथलेटिक्समा नयाँ सफलता हासिल गर्न खोजिरहेका खेलाडीको लागि महत्वपुर्ण प्रतियोगिता बनिरहेको नेपालगन्ज म्याराथन आगामी मंसिर १२ गते आयोजना हुँदैछ । यस पटक नेपालगन्ज म्याराथनको तयारी र यसले समाजमा पारिरहेको प्रभाव बारेमा नेपालगन्ज म्याराथन आयोजक कमिटीका सदस्य एवम् लुम्बिनी प्रदेश खेलकुद परिषदका पुर्व सदस्य सचिव भीम ओलीसँग गरिएको संवाद ।
नेपालगन्ज म्याराथनको १२औं संस्करणको तयारी कस्तो भैरहेको छ ?
२०७२ साल मंसिर ५ गते देखि सुरु भएको नेपालगन्ज म्याराथनको पहिलो संस्करणबाट हासिल गरेका अनुभव र उपलब्धीलाई आत्मसाथ गर्दै १२औं संस्करण आमामी मंसिर १२ गते आयोजना गर्ने तयारी भैरहेको छ । तयारीको अन्तिम चरणमा हामी पुगिसकेको छौं ।
अबको एक सातापछि हुन लागेको १२औं संस्करणमा के कस्ता नयाँ अभ्यास गरिदैछ ?
१२औं संस्करण सम्म आइपुग्दा आयोजनाको हिसाबले व्यवस्थापनलाई अझ बढी चुस्त र प्रभावकारी बनाउने प्रयास हुनेछ । नेपालगन्ज म्याराथनमा दौडने खेलाडीलाई सहजताको लागि नयाँ प्रविधिको पनि प्रयोग गरिरहेको छौं । खेलाडीलाई दिने पुरस्कार राशीमा यस वर्ष पनि केहि बृद्धि गर्ने योजना छ । हाम्रो निरन्तरको प्रयासले नेपालगन्ज म्याराथन एथ्लेटिक्सको अन्तराष्ट्रिय संस्था एम्सबाट मान्यता प्राप्त प्रतियोगिता बनिसकेको छ । जसले गर्दा नेपालगन्ज म्याराथन नेपालका धावकहरुको लागि आर्कषक प्रतियोगिता पनि बनिरहेको छ ।
नेपालगन्ज म्याराथनमा खेलाडीको सहभागितालाई बढाउन के कस्ता कार्यहरुको गरिरहनु भएको छ ?
यस पटक हामी म्याराथनमा सहभागि हुने खेलाडीको संख्या बढाउने प्रयास गरिरहेको छौं । पछिल्ला संस्करणमा हामीले व्यवस्थापन र म्याराथनसँग जोडिएका अन्य कार्यक्रमहरु पनि आयोजना गरिरहेको छौं । त्यसले गर्दा नेपालगन्ज म्याराथनमा खेलाडीको सहभागिता बढिरहेको छ । यसपटक मंसिर ५ गते सम्म खेलाडीहरुलाई दर्ताको लागि समय अवधि दिइएको छ । नेपालगन्ज म्याराथनको दौडने रुट पनि राम्रो भएकोले खेलाडीलाई आफनो व्यक्तिगत रेकर्ड ब्रेक गर्न सहज हुने गरेको छ । नेपालगन्ज म्याराथन एम्सको मान्यता प्राप्त गरेको प्रतियोगिता भएकोले खेलाडीलाई अन्तराष्ट्रिय स्तरका प्रतियोगतामा सहभागिताको लागि सहज र अवसर मिल्ने गरेको छ । त्यसले पनि खेलाडीको आर्कषण बढाईरहेको छ ।
नेपालगन्ज म्याराथनको १२औं संस्करण सम्म आइपुग्दा यसले पश्चिम नेपालको खेल संस्कृतिमा कस्तो प्रभाव पारेको अनुभव गर्नु भएको छ ?
नेपालगन्ज म्याराथनलाई हामीले एउटा दौड प्रतियोगिताको रुपमा मात्र लिएको छैनौं । यसलाई खेल पर्यटनसँग जोडेर अगाडी बढाउने प्रयास गरेको छौं । नेपालगन्ज, अथवा बाँकेलाई चिनाउने कुरा, लुम्बिनी र देशकै प्रतिनिधित्व गरेर अगाडी बढाउने कार्यहरु भैरहेको छ । समाजका हरेक क्षेत्रका मानिससँग सहकार्य गरेर अगाडी बढिरहेको छौं । आयोजनाको हिसाबले विगतको भन्दा अझ भब्य रुपमा प्रतियोगिता हुनेछ । यो प्रतियोगितालाई सहयोग पुग्ने गरी भगिनी अर्थात सहायक प्रतियोगिताहरु जस्तै गौघाट ग्रीन रन, राप्तीसोनारी नेचर रन, कोहलपुर वान माईल रेस, नेपालगन्ज रात्रीकालिन दौडहरु आयोजना हुँदै आएका छन् । यसले गर्दा पनि म्याराथनमा सहभागि हुने खेलाडीको संख्या बढने हाम्रो विश्वास रहेको छ ।
एम्सको मान्यता प्राप्त गरेपछि नेपालगन्ज म्याराथनमा कस्तो प्रभाव परेको छ ?
स्थानीय रुपले मात्र होइन अन्तराष्ट्रिय स्तरमा पनि नेपालगन्ज म्याराथनको प्रभाव बढिरहेको छ । हाम्रो गतिविधिका कारण नेपालगन्ज म्याराथनले अन्तराष्ट्रिय स्तरको अवार्ड पनि पाईसकेको छ । यसको व्यवस्थापन, उद्देश्यका कारण पनि राम्रो प्रभाव परेको छ ।
आगामी साता १२औं संस्करण आयोजना गरिरहँदा कस्ता चुनौति छन् आयोजकसामु ?
नेपालगन्ज म्याराथनलाई खेल पर्यटनसँग जोडन अझै धेरै काम गर्न बाँकी छन् । म्याराथनलाई उत्सवको खेलको रुपमा स्थापित गराउनु छ । दौडलाई पर्वको रुपमा बनाउनु छ । हरेक उमेर समुह र वर्गका मानिसको सहभागिता बढाउँदै लग्नु पर्ने चुनौति छन् । धेरै भन्दा धेरै नागरिकको सहभागिता गराउनु छ । धावकहरुको सहभागिता बढाउनु पर्नेछ । स्थानीय निकाय, खेलप्रेमीहरुले यसलाई सहयोग गर्दै आउनु भएको छ । आम नागरिकलाई दौड संस्कृतिको बारेमा बुझाउनु पर्ने चुनौती अझै हाम्रो सामु छन । चुनौतिको पनि सामना गरिरहेका छौं भने नेपालगन्ज म्याराथनलाई सहज र सरल ढंगले आयोजना गर्ने पनि प्रयास गरिरहेको छौं ।

……….