नेपालगन्जका सार्वजनिक शौचालयको हविगत
Saturday, October 30th, 2021, 6:00 am
Kalpristha
निशु जोशी
नेपालगन्ज, १२ कात्तिक
एकजना करिब २५ वर्षिय युवाले धम्बोझी चोक पुग्नुअघि नै रिक्सा रोके । नेपालगन्जको मुटु मानिने धम्बोझी चोक नजिकै रहेको कृषि विकास बैंकको छेउमा शौचालय देखेर उनले रिक्सा रोकेका थिए । शौचालय बन्द देखेपछि उनी फर्किए । मानीसहरु यसैगरी शौचालय जानका लागि आइरहेका थिए । तर शौचालयको हविगत देखेर फर्किन्थे ।
शौचालयको छेउमा रहेको चियापसलमा चिया पिइरहेका नेपालगन्ज-४ का वासुदेव पन्तले कतिपयलाई शौचालय भएको ठाँउमा पठाइदिन्थे । ‘यस्तै हो, यहाँ मानीसहरु आइरहन्छन् , कतिपयलाई इमरजन्सी हुनसक्छ भनेर उनीहरुलाई हाम्रो मःम पसलको अगाडि छ जानुस् भनेर पठाइदिने गरेको छु’ उनले अस्तव्यस्त अवस्थामा रहेको शौचालय देखाउदै भने, ‘शौचालय सुरु भएको समयमा रिक्सावालाहरु पनि यहि आएर रोकिन्थे, शौच गर्थे । सजिलो भएको थियो । अहिले शौचालयको यो हविगत भएको छ ।’ योजना ठूलो ल्याउने तर दीर्घकालिन रुपमा नसोच्ने प्रवृत्ति नेपालगन्ज उप-महानगरपालिकामा पनि देखीएको पन्तको भनाइ थियो ।
यो अत्याधुनीक शौचालय देशमै पहिलो पटक नेपालगन्जमा निर्माण गरीएको उप-महानगरले बताएको थियो । शौचालयमा मानीसहरुले सफाई नगर्ने प्रवृत्तिलाई ध्यानमा राख्दै आफै सफा हुने प्रविधी जडान गरिएको थियो । विद्युत् गएपनि सोलारबाट पनि चल्ने व्यवस्था गरिएको थियो ।
महिला र पुरुषको गरी ८ वटा कोठाको शौचालय निर्माण पछि सर्वसाधारणलाई धेरै सहज हुने अपेक्षा थियो । २०७६ सालमा उप-महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले तामझामका साथ उद्घाटन गरेको यो शौचालय ६ महिना नपुग्दै अस्तव्यस्त बनेको थियो । अहिलेसम्म सुधार भएको छैन ।
हाल उक्त शौचालयको वरपर टुटफुट भएको छ । डोरी बाधिएको भएपनि शौच लागेकाहरु जबरजस्ती भित्र जान खोज्छन् । शौचालय कुकुरहरुको बासस्थान भएको छ ।
शौचालय ठिक ढंगले व्यवस्थित नगरिँदा दुर्गन्धित भएपछि मानीसहरु आउन कम भयो । मानीस कम भएपछि कमाई पनि कम । त्यसैले ठेकेदारहरु पनि २/३ महिनाभन्दा बढी टिकेनन् । हालका ठेकेदारको पनि कोरोना महामारीमा ज्यान गयो । उनका आफन्तहरुले कहिलेकाहिँ मात्रै समय दिने गरेका छन् ।
उक्त एउटै शौचालयमा करिब ५७ लाख गरिएको थियो । ‘५७ लाखमा जग्गा सहित सुविधा सम्पन्न घर निर्माण हुन्छ, लाखौँ खर्चिएको यो शौचालयको हालत भने यस्तो छ’ एक स्थानीयले भने ।
स्थानीयका अनुसार, शौचालय निर्माण भएको जग्गा कृषि विकास बैंकको जग्गा हो । बैंकले शौचालयका लागि जग्गा दिन नमानेपछि मुद्धा समेत परेको थियो । अदालतले आदेश दिएपछि शौचालय निर्माण भएको हो ।
‘पश्चिम नेपालका मानिसहरु यहाँ आउने भएकाले यहाँ सार्वजनीक शौचालय एकदम आवश्यक छ । तर भएका शौचालय व्यवस्थित हुनुपर्यो,’ स्थानीय पन्तले भने ।
दांगबाट नेपालगन्जमा कामको शिलशिलामा आएका दिपक कुमार डिसीले धम्बोझी चोकमा सार्वजनीक शौचालय नहुँदा खाजा नास्ताको बाहानामा होटेल-होटेल धाउनुपर्ने बाध्यता रहेको बताए । ‘बाहिरबाट आएकाहरुलाई हतार हुन्छ । शौचालय कहाँ छ भन्दै कहाँ कहाँ खोज्दै जानु ?’ उनले भने ।
अझ महिनावारी भएका महिलाहरुलाई प्याड परिवर्तन गर्नुपर्दा असहज हुने गरेको टिकापुर कैलालीबाट आएकी पार्वती रोकायले भनिन् । ‘हामी महिलाहरुलाई अझै गाह्रो हुन्छ । झन् महिनावारी भएको समयमा त थप झमेला व्यहोर्नुपर्छ । कुनैपनि सहरमा व्यवस्थित सार्वजनिक शौचालय छैनन् । देशकै ठूलो सहरमा पनि यो हालत रहेछ,’ पार्वतीले भनिन् ।
शौचालयमा अत्याधुनीक मेसीन भएपनि प्रयोगकर्ताहरुले प्रयोग गर्न नजान्दा छिट्टै बिग्रीएको उप-महानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी बताउँछन् ।