गुणस्तर नपुगेपछि ९० प्रतिशत धान फिर्ता (भिडियोसहित)
Wednesday, December 15th, 2021, 6:30 pm Kalpristha
किसानलाई पीडामाथि पीडा
वीरेन्द्र जैसी नेपालगन्ज, २८ मंसिर
नेपालगन्ज उप-महानगरपालिकाका-१९ का किसान रामदिनेश अहिरले दुई हजार रुपैयाँभन्दा बढी भाडा तिरेर करिब २५ क्विन्टल धान ट्रयाक्टरमा नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जमा पुर्याए । उनलाई विश्वास थियो धान खरिद हुन्छ । तर कम्पनीमा धान जाँच गरेपछि कर्मचारीले उक्त धान गुणस्तरीय नभएको भन्दै खरिद गर्न मानेनन् । दिनभर धान किनिदिन हारगुहार र माथापच्चि गर्दापनि धान नबिकेपछि साँझ उनी उक्त धान जस्ताको तस्तै लिएर घर फर्कीए । सरकारले तोकेको आकर्षक मुल्यमा धान बिक्री हुने उनको आशा निराशामा परीणत भयो ।
रामदिनेशजस्तै यसवर्ष बाँकेमा किसानहरुको सरकारले तोकेको समर्थन मुल्यमा धान बिक्री हुने सपना तुहिएको छ । बरु उल्टै धान बेच्न उनीहरुले अनेक दुःख, दौडधुप र अपमान व्यहोर्नुपरेको छ भने भएको पैसा पनि बित्थामा खर्च भएको छ ।
सरकारले तोकेको समर्थन मुल्यमा बाँकेमा २५ हजार क्वीन्टल धान खरिदको लक्ष्य तोकिएको छ । त्यसका लागि कृषि ज्ञान केन्द्रको सिफारिस लिन किसानले तीन दिनसम्म धाउनुपर्यो । सिफारिस नम्बरका आधारमा हरेक दिन १० जना किसानको धान खरिद गर्नेगरी दिन तोकिएको छ । एकजना किसानबाट अधिकतम ३० क्विन्टल धान खरिद गर्ने लक्ष्य तोकिएको छ । तर खरिद सुरु भएको तीन दिनमा मात्र ३५ क्विन्टल ७० किलो धान मात्रै खरिद भएको छ । बाँकी करिब दुई सय ६५ क्विन्टल धान फिर्ता पठाइएको छ ।
यसरी धान खरिद नभई फिर्ता पठाउनुको कारण वर्षाका कारण अधिकांश धान बिग्रनु रहेको कम्पनीको नेपालगन्ज मुख्य शाखा प्रमुख राम बहादुर विष्टको भनाई छ । ‘यसपाली कात्तिकमा परेको बेमौसमी वर्षाले धानमा ठूलो पुर्याएको थियो । खेतमा डुबेको या भिजेको धान गुणस्तरीय छैन । हामीलाई स्पष्ट निर्देशन छ कि भिजेको धान नकिन्नु भनेर । यहाँ किसानले ल्याएर आएको अधिकांश धान भिजेर टुसा उम्रिएको छ । त्यस्तो धान हामीले किन्नै मिल्दैन,’ विष्टले भने ।
खाद्यले धान खरिद गरेर त्यसबाट चामल बनाई हिमाली तथा पहाडी जिल्लाका उपभोक्तालाई बेच्ने गर्छ । गुणस्तरहीन धानबाट चामल पनि गुणस्तरहीन आउने भन्दै कम्पनीले कर्मचारीहरुलाई भिजेको धान खरिद नगर्ने स्पष्ट लिखित निर्देशन नै दिएको छ ।
बाँकेमा पहिलो चरणमा आठ सय २५ जना किसानलाई सिफारिस वितरण गरिएको छ । तर अहिलेको अवस्था हेर्ने हो ती सबै किसानहरुले धान नेपालगन्ज पुर्याउने र फेरि फिर्ता लैजानुपर्ने झन्झटमात्रै ब्योहोर्नुपर्ने भएको छ । विगत तीन दिनमध्ये पहिलो दिनमा मात्र २९ क्विन्टल ४० किलो धान खरिद भएकोमा दोस्रो दिन ६ क्विन्टल ३० किलो धान खरिद भयो । तेस्रो दिन मंगलबार एक्जनाको पनि धान खरिद भएन । आएका सबै किसान निराश भएर घर फर्के ।
नेपालगन्ज-१८ का किसान फौजदार वर्मा किसानहरुले कम्पनीले भनेअनुसार राम्रो धान छानेर ल्याएपनि खरिद नभएको बताउँछन् । आफूहरुले पनि त्यही धानको भात खाइरहेको बताउँदै उनले भने, ‘हामीसँग भएकै धान त्यस्तै हो । अब हाम्रो धान खरिद नगरेर सरकारले के जापानबाट धान खरिद गर्छ त ?’
सरकारले मध्यम धानको दुई हजार नौ सय दुई रुपैयाँ र मोटा धानको दुई हजार सात सय ५२ रुपैयाँ मुल्य तोकेको छ । तर, किसानहरुको धानको गुणस्तर नपुगेको भन्दै खरिद नभएपछि अब उनीहरु पुनः व्यापारीहरुको शरणमा जानुपर्ने भएको छ । व्यापारीहरुले धानको दुई हजार रुपैयाँ मात्रै दिइरहेका किसानहरु बताउँछन् ।