उपमहानगरको योजनास्थलमा व्यक्तिगत सटर निर्माण
Monday, December 27th, 2021, 6:00 am
Kalpristha
उपमहानगरले फुटपाथ पसल निर्माण गरिरहेको बिटिएस सडकको फुटपाथमा एउटा पक्की भित्तासहितको सटर निर्माण गरिएको छ । उक्त सटर निर्माण गर्ने व्यक्तिको दुईतले घर सोही सडकछेउमा छ । सडकछेउमा ती व्यक्तिको आफ्नै पसल पनि छ । उनी ठेला व्यवसायी होइनन् । तर उनले उप-महानगरले ठेला व्यवसायीलाई व्यवस्थापन गर्ने भनेर पसलहरु निर्माण गरिरहेको ठाउँमा करिब एक लाख ३० हजार खर्च गरेर पक्की संरचनाको सटर निर्माण गरेका छन् । ती व्यक्ति स्रोतका अनुसार उक्त सटर वडाध्यक्षको अनुमतिमा निर्माण गरिएको हो ।
वडाध्यक्ष बुद्धिसागर सुवेदी पनि उक्त सटर आफूले निर्माण गर्न अनुमति दिएको स्वीकार्छन् । ‘उहाँले त्यहाँ सटर निर्माण गर्ने ईच्छा व्यक्त गर्नुभयो । मैले पनि हेरचाह गरिदिनुहोला । ल न त निर्माण गर्नुस् भनेर भनेको थिएँ,’ अध्यक्ष सुवेदीले भने । जबकि उक्त पसल निर्माणस्थलमा निर्माण गरिएका केही पसलहरु भने फलामको पाताले बनाइएका छन् । ती व्यक्तिले आफ्नै व्यक्तिगत लगानीमा पक्की सटर निर्माण गरेर उक्त सटरमा कस्मेटिक सामानको व्यापार पनि सुरु गरिसकेका छन् । सटर निर्माण गर्ने व्यक्तिको परिवारस्रोतका अनुसार उक्त पसलको भाडा पनि अहिलेसम्म तोकिएको छैन ।
तर उक्त सटर निर्माण र वडाध्यक्ष सुवेदीले दिएको निर्माणको अनुमति सो योजनामा गत आर्थिक वर्ष २०७७-७८ मा बजेट खर्चिएको प्रदेश सरकारको मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम सन्चालन कार्यविधिका साथै जनप्रतिनिधिहरुकै बाचासँग मेल खाँदैन ।
कार्यविधि भन्छ मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमको अनुदान गरिब, असहाय, ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति, दलित, पिछडिएका समुदाय, सुरक्षित घर नभएका परिवार, प्रकोप पीडित, वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति र रोजगारी गुमेका व्यक्तिको लागि खर्च गर्नुपर्छ । अर्कोतिर जनप्रतिनिधि आफैले बाचा गरेका थिए फुटपाथमा ठेला व्यवसाय गरेकाहरुलाई उक्त स्थानमा ठाउँ दिएर व्यवसाय गर्ने अवसर दिन्छौँ । यी दुवै तथ्यको विपरित कुनै मापदण्डबिनै उक्त योजनाको लाभग्राही नभएका व्यक्तिलाई अनधिकृतरुपमा सटर निर्माणका लागि अनुमति दिइनु शक्तिको दुरुपयोग हो ।
एकजना स्थानीय ठेला व्यवसायीले आफूहरुलाई प्रहरीले सधैं दुःख दिइराख्ने तर आफूहरुकै लागि बनाइएको उक्त स्थानमा उक्त योजनाको जरुरत नभएका व्यक्तिलाई पसल निर्माण गर्न दिइनु दुःखद भएको बताए । ‘यसरी पैसा हुनेहरुले आफै पसल बनाएर चलाउन दिने हो भने त हामीजस्ता गरिबहरुले कसरी अवसर पाउँछन् ?,’ उनले प्रश्न गरे ।
छैन निश्चित कार्यविधि
उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले उक्त फुटपाथमा गरिब तथा विपन्न एवं अव्यवस्थित ठेला व्यवसायीहरुलाई नै पसल सन्चालन गर्न दिइने बताए । तर, उनको उक्त भनाइ विपरित काम भइरहेको छ । स्थानीयका अनुसार केही हुनेखाने व्यक्तिहरुले बनिसकेका सटरमा पनि कब्जा जमाउन आफ्नो ताल्चा लगाइसकेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत सुवेदीले उक्त सटर उप-महानगरपालिकाको अनुमतिबाट नभइ वडाध्यक्षको अनुमतिबाट निर्माण गरिएको बताए । अन्य सटरहरु भने उप-महानगरपालिका आफैले बनाउने ? र ती सटरहरु कसलाई दिने ? कति शुल्क लिने ? भन्नेकुरा सबै सटरहरु बनिसकेपछि तय हुने बताउँछन् । वडाध्यक्ष सुवेदी भने उक्त सटर बन्दा अरु सटर पनि त्यस्तै मोडलमा बनाउन सकिने आइडिया आफूलाई प्राप्त भएको बताउँछन् । यद्धपि उनी पनि उक्त फुटपाथमा सडकमा व्यवसाय गरिरहेका ठेला व्यवसायीलाई नै प्राथमिकता दिइने बताउँछन् ।
तर हालसम्म कसरी उक्त फुटपाथ पसल सन्चालन हुन्छ भन्ने कार्यविधि उप-महानगरपालिकाले बनाएको छैन । कार्यविधि नहुँदा हुने खाने र पहुँचवालाहरुकै हालिमुहाली हुने र वास्तविक अव्यवस्थित ठेला व्यवसायीहरु भने सडकमै रहनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।