सडक डिभिजनकै अघि सडक अतिक्रमण
Thursday, December 30th, 2021, 6:00 am
Kalpristha
यथाशीघ्र अतिक्रण हटाउछौँ : डिई एसी
डिभिजन सडक कार्यालयका प्रमुख डिभिजनल ईन्जिनियर होमबहादुर एसीले यथाशीघ्र अतिक्रमण हटाइने बताए । उनले पत्र लेखेअनुसार निर्माण गर्ने व्यक्ति स्वयंले संरचना नहटाएमा अन्तिम विकल्पको रुपमा बल प्रयोग भएर पनि सडक क्षेत्रका संरचना संरचना हटाइने बताए । तर सम्बन्धित व्यक्तिलाई लेखिएको पत्रमा हटाउने अवधि तोकिएको छैन ।
हामी तयार छौँ : प्रजिअ खत्री
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले आफुहरु सडक अतिक्रमण हटाउने काममा आवश्यक सबै सहयोग गर्न सहयोग गर्न तयार रहेको बताए । यसका लागि सडक डिभिजनले नै अग्रसरता लिनुपर्ने उनको भनाइ छ ।
–वीरेन्द्र जैसी
डिभिजन सडक कार्यालय नेपालगन्जको कार्यालय सामुन्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको छेउमा, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयको अगाडी सडक क्षेत्रमै हाल दुईवटा भवनहरु धमाधम बनिरहेका छन् ।
एउटा भवनको एकतलाको भित्ता पक्की बनाइएको छ भने माथिल्लो तलामा फलामको पिलर र पाताले निर्माण गरिँदै छ । अर्को भवन ब्लकको प्रयोग गरी धमाधम निर्माण भइरहेको छ । ती भवन निर्माण भइरहेको क्षेत्रमै वर्षौँदेखि आधा पक्की संरचनामा एउटा ग्रिल उद्योग, अस्थायी संरचनामा दुईवटा खाजाघर सन्चालनमा छन् । एउटा पक्की घर सडक क्षेत्रमै निर्माण भएको छ ।
सडक ऐनले मुख्य राजमार्गको मध्यबिन्दुदेखि २५ मिटर दायाँ बायाँ मुख्य सडक र त्यसको दुबै तर्फ ६-६ मिटर क्षेत्र भित्रमा कुनैपनि संरचना निर्माण गर्न नदिनेगरी निषेध गर्ने एवं त्यस्ता संरचना निर्माण भएमा सडक विभागले हटाउन सक्ने व्यवस्था गरेको छ । सडकको दुवैतर्फ ६-६ मिटर छोड्नुको मुख्य उदेश्य संभावित दुर्घटना रोक्नु हो ।
तर, वर्षौँदेखि सडक क्षेत्रमा संरचना बनेको पनि नदेखेका सडक विभागका कर्मचारीहरुले त्यहीँ ठाउँमा नयाँ संरचा बनेको पनि देखेनन् । पछिल्लो समय सडक क्षेत्रमा संरचना बनेको गुनासो आउन थालेपछि मात्रै सडक विभागले चासो दिएको छ । सडक विभागले संरचना बनाइरहेकाहरुलाई निर्माण कार्य रोक्न निर्देशन दिएर पत्र लेखेको छ । तर, उक्त पत्र लेखेको एक हप्ताभन्दा बढी भइसक्दा पनि निर्माण कार्य रोकिएको छैन । बिहीबार कालपृष्ठ समाचारदाता पुग्दा पनि दुईवटै घरहरुको निर्माण कार्य धमाधम चलिरहेको थियो ।
एकजनाले कुरा गर्न खोज्दा तर्किएर हिँडे भने अर्का एकजनाले आफ्ना तर्क सुनाए । उनका अनुसार उक्त स्थानमा सुर्खेत रोड बिस्तार हुनुअघि उनको परिवार नै बसाबास गर्दै आएको थियो । त्यही भएर सडक थप बिस्तार नहुन्जेलसम्मका लागि उक्त जमिनमा अस्थायी टहरा बनाएर रेष्टुरेन्ट सन्चालन गर्न खोजेको उनले बताए । उक्त कुरा सडक डिभिजनका हाकिमलाई सम्झाएपछि आफूलाई निर्माण कार्य अघि बढाउन अनुमति मिलेको उनले ठोकुवा गरे । तर, डिभिजन सडक कार्यालयका प्रमुख होम बहादुर एसी उक्त कुरा झुठो भएको बताउँछन् । आफूले उनीहरुलाई कार्यालयमा बोलाएर टहरा नबनाउन स्पष्ट निर्देशन दिएको दाबी गरे ।
सोही क्षेत्रमा ग्रिल उद्योग सन्चालन गरिरहेका व्यक्तिले पहिले दुइवटा मात्रै टहरा रहेकोमा पछि त्यसैको सिको गर्दै अरु पनि टहरा बनाएर बस्न आइपुगेको भन्दै उनीहरुप्रति आक्रोश पोखे । उनले भने, ‘एक दुईवटा हुँदा केही समस्या थिएन । अब अहिले रिस गरेर अरु पनि थपिन आइपुगे ।’
वर्षौँदेखि सोही क्षेत्रका टहरा बनाएर व्यापार गरिरहेकाहरुलाई सडक विभागका कर्मचारीहरुले नदेखेका भने होइनन् । बरु उनीहरुले त्यहाँ बसेकाहरुसँग अवैद्य असुली गर्ने गरेको पाइएको छ । सोही स्थानमा नास्ता पसल सन्चालक गरिरहकी एकजनाले भनिन्, ‘यहाँ सडकको मान्छे भनेर एकजना आउनुहुन्थ्यो । उहाँले मासिक १५ सय, दुई हजार लिएर जानुहुन्थ्यो । उहाँले नै भनेपछि हामी बसेका हौँ ।’
डिभिजन प्रमुख एसीले कर्मचारीहरुले रकम लिएर बस्न दिएको भनाइ सरासर झुठो भएको दाबी गरे । उनले प्रमाणसहित आएमा त्यस्तो गर्ने कर्मचारीलाई कारबाही गर्ने बताए । एसीले अब ती टहराहरु हटाउने प्रकृयामा अघि बढिसकेको बताए । उक्त प्रकृयामा पहिलो चरणमा टहरा निर्माण गरिरहेकाहरुलाई पत्र नै लेखेर तुरुन्त हटाउन निर्देशन दिएको उनले बताए । तर उनले गरेको दाबीअनुसार काम भने भएको छैन ।
सडक डिभिजनले अहिले घरटहरा बनाइरहेका दुईजनाको नाममा मात्रै पत्र लेखेको छ । ती दुईजना मध्ये एकजनाले मात्रै पत्र बुझेका छन् । प्रमुख एसीले निर्माण कार्य अघि बढाउन मनुमति दिएको बताउने व्यक्तिले पत्र लेखिएको १० दिन बितिसक्दा पनि पत्र बुझेका छैनन् । कर्मचारीहरु भन्छन्, ॅउहाँ भेटिनुहुन्न ।’ तर ती व्यक्ति बिहीबार कालपृष्ठ समाचारदाता पुग्दा निर्माणस्थलमै थिए ।
उक्त सडक अतिक्रम भइरहेको क्षेत्रका एकजना स्थानीयवासीले सडक विभागका कर्मचारीकै मिलोमतोमा सडक अतिक्रमण भइरहेको बुझ्न सकिने बताए ।