खजुरामा सुरु भयो ‘लागुऔषध मुक्त खजुरा अभियान’
Tuesday, July 21st, 2026, 8:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाचा
खजुरा, ५ असार
बाँकेको खजुरा गाउँपालिका भित्र लागुऔषध सेवन र विक्री वितरणलाई न्युनिकरण गर्ने उद्देश्यले ‘लागुऔषध मुक्त खजुरा अभियान’ सुभारम्भ गरिएको छ ।
एक महिनासम्म चल्ने यस अभियानको पहिलो दिन खजुरा गाउँपालिका वडा नं ७ को कलहन्सन गाउँ टोलमा बसोबास गर्ने लागू औषध सेवन र विक्री वितरण कर्ताहरूको पहिचान गरी प्रत्येकको घरमा स्थानिय जनप्रतिनिधीहरु, स्थानिय वुद्धिजिवी तथा भद्रभलादमीहरूको संयुक्त टोली गई लागू औषध सेवन र विक्री गर्ने ब्यक्ती लगायत घरका अभिभावकलाई लागू औषध सेवनको असर प्रभाव सम्बन्धी सचेतना गराई अभिलेख राखिएको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक नविन चापागाईका अनुसार पछिल्लो समय खजुरा गाउँपालिका भित्र लागुऔषध प्रयोगकर्ता र विक्रिकर्तालाई धमाधम प्रकाउ गरिएको छ । आर्थिक वर्ष २०८२ र ०८३ मा खजुरा गाउँपालिका वाट करिव ३ सय २५ ग्राम लागुऔषध सहित ३२ जना (सेवनकर्ता र विक्रिकर्ता) मानिसहरुलाई नियन्त्रणमा लिई मुद्दा चलाइएको छ ।
सवैभन्दा बढी खजुरा गाउँपालिका वडा नं २ र ७ बाट समान ६ जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय धनौलीको संयुक्त प्रयासमा ठुलो परिमाणमा लागुऔषध सहित पक्राउ गरिएको हो ।
खजुरा गाउँपालिकामा अब ठुलो परिमाणका लागुऔषध विक्रिकर्ता नरहेपनि केही लागुऔषध सेवनकर्ता रहेकोमा लागुऔषध प्रयोगकर्तालाई शुन्यमा झार्न ‘लागुऔषध मुक्त खजुरा अभियान’ सुभारम्भ गरिएको ।
एक महिनासम्म चल्ने यस अभियान पालिकाको ८ वटै वडाका लागुऔषध सेवनकर्ता र विक्रिकर्ताको घर टोलमा स्थानिय जनप्रतिनिधीहरु, स्थानिय वुद्धिजिवी तथा भद्रभलादमीहरू संगै पुगि जनचेतना जगाउने, लागुऔषध प्रयोग नगर्न चेतावनी दिने र निजहरुको अभिलेख राख्ने र आवश्यक्ता अनुसार पुनःस्थापना केन्द्र राख्न सहजिकरण गरिदिने बताइएको छ ।