लघुकथा : चिन्ता
Saturday, January 29th, 2022, 10:33 am
Kalpristha
–हेम पोखरेल
“दाजु भाउजू नारिएर कता हो यो बुढेश कालमा ?“ म सोध्छु ।
भाउजू लजाउदै दाइको हात आफ्ना हातबाट छुटाउँछिन् ।
“हेल्थ पोष्टतिर हिनेको भाइ !“ दाईले प्रतिउत्तर दिन्छन् ।
“ कसलाई के भो दाइ ?“ म चिन्ता लिँदै सोध्छु ।
दाइ भन्छन् : भाउजूलाई जचाउन हिँडेको । दुई जिउकी भइन् , अब जचाउनु परो नि त ।
भाउजू भने झन् लजाइन् र सप्कोले मुख छोपिन् ।
अब भने म छक्क परेँ र गाली गर्दैभनेँ : ‘के कुरा गरेको बुढादाई तिमीले ? छोरामा छोराछन् , छोरीमा छोरी छन्, यो बुढेशकालमा । भाउजू पनि पैतालीस वर्षमाथि लाग्नुभयो । तपाईं आफैं पचास कट्न लाग्नु भयो । अझै छोराछोरी केका लागि जन्माउने हो ? फेरि यो उमेरमा बच्चा जन्माउने हुँदा, भाउजूको ज्यानको खतरा हुन्छ । हैट ! पात्तिएका बूढा ।’
दाइले भने : ‘त्यस्ता कुरा छोड्दे भाइ ! के गर्नु त ? छोरा खाडी मूलुक गए छोरी पराई घर गए । घरमा दुईजना मात्र छौँ । अब खुरू खुरू चारओटा बच्चा जन्माउने हो । एउटालाई प्रधानमन्त्री बनाउने हो ! एउटालाई पत्रकार बनाउने हो ! एउटालाई प्रहरी प्रशासनको ठूलो हाकिम बनाउने हो ! एउटालाई न्यायाधीश बनाउने हो । आफ्नै सन्तानले देशका सम्पूणर् संयन्त्र नचलाएसम्म यहाँ सुशासन नआउने भो भाइ ! यहाँ त देशको पो चिन्ता छ त । मैले त भाउजूलाई तँ तयार हो भनिसकेँ । देश त हाम्रो हो नि जसरी नि बँचाउनु परो । तेरी भाउजूले पनि अब बुढेसकाल लागो भनेर धर पाउदिन । नत्र देश खोलामा जान्छ, न्याय पानीमा बग्छ । अब यो बुढेसकालमा पो देशको चिन्ता लाग्न थालो त । यो दुई जीउकी भैसकी ।’
दाइले त्यति भन्दै हेल्थपोष्ट तिर लागे । मलाई भने चिन्ता लागिरह्यो । बुढेसकालमा बुढा बौलाए छन् । हुन पनि हो ! यो देशका नेताहरुका कामकर्म हेर्दा मान्छे बौलाउँछ ।
करिब दुई घण्टापछि दाजु र भाउजू फर्किदै गरेको देखेँ । चिन्ता र चासो बढेको थियो । फेरि भेटेर सोधें : ‘के भनेको दाइ तपाईले ? मलाई त चिन्ता पो भो त !’
दाइले भने : ‘केही भएको छैन भाइ ! भाउजूले मैनावारीको महिना पुगेर पनि किन भएन भनी । के भएको रहेछ भनेर स्वास्थ्य चौकी गएका । अब पैतालीस पचास वर्षको उमेर भनेको मैनावारी सुक्ने बेला हो । यो बेलामा केही दिन ढिलो अथवा छिटो हुन्छ आत्तिनु पर्दैन भनेर डाक्डरले भने ।’