नेपाल अफ्रो– एसियाली जनएकता संगठनको वाण्डुङ्ग सम्मेलनको ७१ औं वर्षगाँठ सम्पन्न
Thursday, April 30th, 2026, 8:42 pm
Kalpristha
‘नेपालले अर्थ कुटनीतिमा ध्यान दिनुपर्ने बेला आएको छ’
कालपृष्ठ समाचारदाता
काठमाडौं, १७ वैशाख
नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औं वर्षगाँठ भव्यतापूर्वक मनाएको छ । काठमाडौंको होटल एल्लो प्यागोडामा एक कार्यक्रम आयोजना गर्दै संगठनले वर्षगाँठ मनाउदै असंलग्न आन्दोलनको महत्वबारे छलफल गरेको हो । नेपाल अफ्रो– एसियाली जनएकता संगठनका अध्यक्ष कृपासुर शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निरोज मास्केले कार्यक्रमको सहभागिलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । नेपालको परराष्ट्र नीतिलाई प्रभावकारी बनाउन कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताउँदैं कार्यक्रमलाई सफल बनाउन सक्रिय रुपमा सहयोग गर्नु हुने सम्पुर्णलाई उपाध्यक्ष मास्केले धन्यवाद दिनु भएको थियो ।
‘नेपाल तीन ढुङ्गाबीचको तरुलको रुपमा उभिन पुगेको छ । नेपालले अर्थ कुटनीतिमा ध्यान दिनुपर्ने बेला आएको छ । नेपालले कुनै राष्ट्रको पक्षमा उभिने स्थिति बनेमा यसले नेपाललाई ठूलो प्रभाव पार्ने र अस्थित्वमाथि नै प्रश्न उठ्नसक्छ ।’, पूर्वराजदूत एवम् परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भन्नु भयो ।
कार्यक्रममा सरकारले नेपाललाई बफर स्टेटबाट भाइब्रेन्ट ब्रिज बनाउने भन्दै गरेको घोषणालाई समेत खरो टिप्पणी गर्नु भयो । नेपाल बफर स्टेट कहिल्यै नभएको र हुन नसक्ने भनेका परराष्ट्र क्षेत्रका जानकारहरुले नेपालले आफ्नो परराष्ट्र नीति र वाण्डुङङ्ग सम्मेलनको उद्देश्यलाई थप अपनत्व लिनुपर्नेमा जोड दिए । ‘वाण्डुङ्ग सम्मेलन नेपालको स्वतन्त्रतालाई जोगाउने मामलामा महत्वपूर्ण हिस्सा बन्न पुग्यो । अबका दिनमा पनि सरकारले असंलग्न परराष्ट्र नीतिमा प्रतिबद्ध र कटिबद्ध राख्दै नेपाली भूमिलाई अन्य राष्ट्रको पक्षमा प्रयोग हुन नदिनु नै हाम्रो प्रमुख दायित्व हुन्छ ।’, प्रमुख अथिति रहेका पूर्वपरराष्ट्रमन्त्री एवम् नेपाली सेनाका लेफ्टिनेन्ट जनरल बालानन्द शर्माले भन्नु भयो ।
कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री बालानन्द शर्मा, पूर्वराजदूत एवम् परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, पूर्वराजदूत प्राडा मोहनप्रसाद लोहनी, पूर्वराजदूत दिनेश भट्टराई लगायतका शीर्षस्थ व्यक्तिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको बारेमा महासचिव प्रा.डा. गोपाल पोखरेल ‘विवस’ले स्पष्ट पार्नु भएको थियो । सचिव अनु शर्माले स्वागत मन्त्व्य राख्नु भएको कार्यक्रममा प्रा.डा. मीना वैद्यले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सदस्य मन्दिरा भण्डारीले गद्य कविता र आप्सो नेपाल उपाध्यक्ष एवम नेपाल प्रज्ञा–प्रतिष्ठानको पुर्व उपकुलपति डा. विष्णुविभु घिमिरेले कविता वाचन गर्नु भएको थियो ।

………
नेपालले असंलग्न आन्दोलन र यसको उद्देश्यलाई पछ्याउनुपर्नेमा जोड दिदै संगठनका महासचिव प्रा.डा गोपाल पोखरेल ‘विवस’ले कार्यक्रमको संयोजन गर्नु भएको थियो । पोखरेल परराष्ट्र मामलामा लामो समयदेखि सक्रिय रहनु भएको छ भने असंलग्न आन्दोलनको पक्षपाति समेत हुनुहुन्छ ।
वाण्डुङ्ग सम्मेलन सन् १९५५ अप्रिल १८ देखि २४ सम्म इन्डोनेसियाको वाण्डुङ्ग सहरमा एसियाली र अफ्रिकी राष्ट्रहरूको सहभागीतामा आयोजित एक ऐतिहासिक सम्मेलन थियो । यसलाई ‘एसिया–अफ्रिका सम्मेलन’ पनि भनिन्छ ।