लघुकथा : निर्णय
Saturday, February 5th, 2022, 2:33 pm
Kalpristha
–सत्या अधिकारी
भर्खर मात्र नयाँ दुलही बनेर सम्पन्न घरमा भित्रिएकी थिएँ म ।
सुरुआतका दिनहरुमा सबैको हाइहाइ र श्रीमानको आँखाकै नानी भएँ ।
पछि बिस्तारै सबैले आ-आफ्ना उग्र रुप, पितृसत्तात्मक सोच अनि रुढीवाद लाद्न थाले, ममाथि ।
सजिलोको लागि राइसकुकरमा खाना बनाउथेँ, ससुरा बा दाउरामा पकाएको मिठो भन्नुहुन्थ्यो ।
यो जाडोमा लुगा धुनुपर्यो भन्दै मेसिनमा लुगा राख्थेँ, सासुआमाको आवाज चर्किन्थ्यो ‘मेसिनमा त लुगा फाट्छ्न बुहारी ।’
छक्क पर्थें म ।
एकदिन खाना बाँड्दै थिएँ, जेठाजुको रुखो स्वर सुनेँ, भन्दै हुनुहुन्थ्यो ‘अचार त यो ग्राइन्डरमा भन्दा सिलौटामा पिसेकै मीठो ।’
सबैका कुरा सुनिरहेका मेरा श्रीमान चाहिँ किन हो कुन्नी? प्रायः मौन रहन्थे ।
कति धेरै सपना बोकेर गएको थिएँ त्यो घरमा बिहे गरेर । घरको चालामाला हेर्दा केही पनि पूरा हुने छाँट्काँट् थिएन ।
बिहान उठेदेखि दिनभर उनीहरुकै स्याहार गर्दा फतक्क गलेको यो शरीरले राती ओछ्यानमा सुत्दासम्म पनि आराम पाउँदैनथ्यो ।
एकदिन पत्रिका पढ्दै थिएँ । जागिरको विज्ञापनमा आँखा पुग्यो । मलाई मिल्ने रहेछ ।
खुसी हुँदै ससुराबालाई देखाएँ । ठाडै इन्कार गर्नुभयो । श्रीमानलाई सोधेँ । त्यै रातदेखि ओछ्यान अलग गर्नुभयो ।
आफ्नो लागि कसैको सहयोग र सुझाव पाइन । त्यसपछि मैले एउटा कठोर निर्णय लिएँ ।
आफ्ना एकसेट सामान झोलामा राखेँ । निस्किएँ, कहिल्यै नफर्कने गरी जागिर खान ।