पहिलोपटक मुटुको कृत्रिम भल्व प्रत्यारोपण
Saturday, March 5th, 2022, 9:09 pm
Kalpristha
नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखिएको छ । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीयमा महिलाको मुटुमा कृत्रिम भल्व राखेको हो ।
केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्व साँधुरो भएपछि उक्त भल्वको स्थानमा नयाँ कृत्रिम भल्व राखिएको जानकारी दिए । उनले नेपालमा पहिलो पटक सफलतापूर्वक ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट महिलाको सफलतापूर्वक भल्वको प्रत्यारोपण गरिएको जानकारी दिए।
यस विधि अनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात् क्याथेटरद्वारा मानव निर्मित भल्व मुटुभित्र छिराएर एओर्टिक भल्वको स्थानमा प्रत्यारोपण गरिन्छ ।
प्रत्यरोपण भएको भल्वले तुरुन्तै काम सुरू गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने गर्दछ । केन्द्रले ती बिरामी महिलाको सोमबार भल्व प्रत्यारोपण गरेर शुक्रबार डिस्चार्ज गरेको हो ।
सन् २००२ देखि यस किसिमको कृत्रिम भल्व फ्रान्समा पहिलो पटक गरिएको थियो । कृत्रिम भल्व प्रत्यारोपण भारतमा ६० देखि ८० लाख रुपैयाँ लाग्ने र नेपालमा २० देखि २५ लाखमा गर्न सकिने केन्द्रका निर्देशक डा. अधिकारीले बताए ।