प्रेस युनियनको महाधिवेशन सुरु
Friday, July 22nd, 2022, 6:00 pm
Kalpristha
नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हेटौंडामा सुरु भएको छ । महाधिवेशनको कार्यक्रमका प्रमुख अतिथी एवम् प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरे ।
हेटौंडास्थित रोयल पार्टी प्यालेसमा महाधिवेशनको उदटन शत्र सम्पन्न भएको हो ।
उद्घाटन गर्दै देउवाले निकट भविष्यमा हुन लागेको चुनाव स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सहयोग पुग्ने गरी कलम चलाउन पत्रकारलाई अनुरोध गरेका छन् । उनले सरकार छिट्टै प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने तयारीमा रहेको बताए ।
हरेक परिवर्तनमा प्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले कोरोनाकालमा नेपालको सञ्चार क्षेत्रले निभाएको भूमिकाको प्रशंसा गरे ।
कार्यक्रममा कांग्रेस उपसभापति पुर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा, सह–महामन्त्री महालक्ष्मी उपाध्यक्ष ‘डिना’ र जीवन परियार, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, कांग्रेस बाग्मती प्रदेश सभापति ईन्द्र बानिया लगायतले सम्बोधन गरे ।
उक्त कार्यक्रम नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको सभापतित्वमा सम्पन्न भएको हो ।

.
झन्डै ८ वर्ष पछि हुन लागेको महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधिहरु हेटौंडा आइपुगेका हुन् । १ हजार ६ सय ३० प्रतिनिधिले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।
नेपाली कांग्रेसको शुभेच्छक संस्था प्रेस युनियनको भावी नेतृत्वका लागि संस्थापन पक्षबाट अध्यक्षमा अनिता बिन्दु र संस्थापन इतर पक्षवाट शिव लम्साल उम्मेदवार बन्दैछन् । उद्घाटन सत्रपछि आजै निर्वाचनको प्रक्रिया पनि शुरु हुनेछ । भोली मतदान हुने र भोली नै मत परिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।
महाधिवेशनमा संस्थापन पक्षवाट वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र संस्थापन इतर समूहबाट प्रेम केसीले उम्मेदवारी घोषणा गरेका छन् भने खुल्ला उपाध्यक्षका लागि भिष्मराज ओझा र शेखर रेग्मीले चुनावी मैदानमा उत्रने घोषणा गरेका छन् ।
उता, संस्थापन पक्षबाट महिला उपाध्यक्षमा कल्पना शर्मा र इतर समूहबाट सलोजा दाहालबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने महासचिवमा संस्थापन पक्षवाट जगन्नाथ दुलाल र इतर समूहबाट दिलिप पौडेलबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । महासचिवमा खिला कार्कीले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
संस्थापन पक्षले कोषाध्यक्षमा माधव धिताललाई उम्मेदवार खडा गरेको छ भने उनीसँग रमेश वाग्ले प्रतिस्पर्धामा रहनेछन् । उपमहासचिवमा युवराज गौतम, रविन्द्र सुवेदी, सन्तोष रेग्मी, केशव साउद लगायतले उम्मेदवारी घोषणा गरेका छन् । महिला उपमहासचिवमा सुलोचना गौतम, कुसुम बिक, दिलिपाश्री अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।