पहिलोपटक सूचना व्यवस्थापन प्रणालीको सुरुवात
Friday, August 5th, 2022, 12:26 pm
Kalpristha
नेपालमै पहिलोपटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको सुरुवात गरिएको छ । लुम्बिनी प्रदेश महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले बिहीबार बुटवलमै एक कार्यक्रमकाबीच उक्त सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गरी औपचारिक रुपमा सुरुवात गरिन् ।
कार्यक्रममा उनले सूचना व्यवस्थापन प्रणालीले यस प्रदेशको तथ्यांक व्यवस्थापन कार्यमा सहयोग पुर्याउने बताइन । मन्त्री घर्तीले यस खालको तथ्यांक व्यवस्थापनले प्रदेशस्तरबाट विद्यमान समस्याको पहिचानसमेत हुने बताइन् ।
मन्त्रीले घर्तीले तथ्यांककै आधारमा कार्यक्रम संचालनका बजेट व्यवस्थापन गर्न र कार्यान्वयन गर्न पनि सम्बन्धित निकायसंग समन्वय सहकार्य गर्न सजिलो हुने बताइन् ।
मन्त्री घर्तीले भनिन्, ‘सरसती हेर्दा, स्थानीय, प्रदेश र केन्द्रीय तहको सरकारले बालबालिका, अपांगता, ज्येष्ठ नागरिको क्षेत्रमा काम गर्नेछ । धेरै वर्ष पहिले नै तथ्यांक व्यवस्थापन गर्ने कार्य गर्नुपर्नेमा अलिकति ढिला भएको छ । यद्दपि सबैको सहकार्यमा यो कार्यलाई द्रूत गतिमा संचालन हुनेछ ।’
पछिल्लो समय मानव बेचविखनका प्रकारहरु फरक भएको आफूले पाएको मन्त्री घर्तिले बताइन् । महिला, बालबालिका मात्रै नभएर पुरुषहरु पनि अफ्रिकी मुलकमा बेचिने गरेको उनले बताइन् ।
बेचविखन भएर उद्धार भइसकेका महिला, बालकालिकाहरुको संरक्षणका लागि केन्द्र सरकारले बनाएको दुईवटा पुनस्र्थापना केन्द्र र केही स्थापना केन्द्रहरुलाई केही सहयोग पुगोस भन्नका लागि प्रदेश सरकारले एडीबीको सहयोगमा दीर्घकालीन पुनस्र्थापना केन्द्र स्थापना गरेको उनले बताइन् ।
सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दे प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव राजेन्द्र थापाले यो प्रणालीले प्रदेश सरकारमार्फत संचालन हुने लक्षित वर्ग तथा समुदाय हितका कार्यमा सहयोग पुग्ने बताए ।

.
कार्यक्रममा प्रदेशका डिआईजी नवल प्रसाद उपाध्यायले बढ्दो विकास क्रमले नेपाली प्रहरीमाथि पनि चुनौती थपिँदै गएको बताए । उपाध्यायले नेपाल प्रहरीले नेपालमा माइती नेपाललगायतका संघ–संस्थाको समन्वय सहकार्यमा मानव बेचविखन तथा ओसारपसार कार्य नियन्त्रणमा लिने गरिएको बताए ।
नेपाल सरकारकाको समन्वयमा युएस एड र यके एडको सहयोगमा विनरक इन्टरनेशनलमार्फत माइती नेपालद्वारा संचालित हाम्रो सम्मान परियोजनाको प्राविधिक सहयोगमा यस प्रकारको सूचना व्यवस्थापन प्रणाली शुरु गरिएको हो ।
छरिएका तथ्यांकहरुलाई एकीकृत गरी स्थानीय तहदेखि केन्द्रतहसम्म तथ्यांकको वहाव कायम गरी नीति निर्माण तथा कार्यान्वयनमा सहयोग पुर्याउन यो प्रणालीले कार्य गर्ने मन्त्रालयले जनाएको छ ।
माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खडकाले यसखालको प्रणालीले समुदायमा रहेको समस्याको अवस्था र त्यसका लागि गर्नुपर्ने कार्यका लागि सहयोग पुर्याउने बताए ।
कार्यक्रममा प्रदेशस्तरका मन्त्रालयका प्रतिनिधि तथा बाँके, बर्दिया, रुपेन्देही र कपिलबस्तुका विभिन्न पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।