डेंगीका कारण २५ जनाको मृत्यु
Thursday, September 22nd, 2022, 5:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ असोज
तिव्र गतिमा फैलिरहेको डेंगी रोगको संक्रमणका कारण यसवर्ष २५ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी संक्रमितको संख्या झन्डैं २० हजार पुग्न थालेको छ ।
महाशाखाको तथ्यांक अनुसार असोज ५ गतेसम्म संक्रमितको संख्या १९ हजार ७६६ र मृतकको संख्या २५ पुगेको छ ।
नेपालमा असारयता तीव्र रुपमा डेंगी रोगको संक्रमण बढिरहेको छ ।
हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौंमा पाँच हजार ४२२ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा पाँच हजार २०६ र भक्तपुरमा ७८६ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या एघार हजार ४१४ पुगेको छ ।
उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ९७७ जनामा संक्रमण देखिएको छ । यसैगरी धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी र कैलाली संक्रमितको संख्या दुइ सय भन्दा माथि छ ।
देशका अन्य विभिन्न जिल्लामा संक्रमितको संख्या दुई सयभन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।नेपालमा डेंगी संक्रमण नियन्त्रणबाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको बताउँछन् स्वास्थ्यअधिकारीहरु ।
गतवर्ष असोज अन्तिमसम्म ५४० जनामा देखिएको डेंगी संक्रमण यस वर्ष कात्तिक अन्तिमसम्म नै देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुमान गरेको छ ।