बाँकेमा नेपाली कांग्रेस बिपी पार्टीले चुनाव लड्ने
Friday, September 23rd, 2022, 5:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ असोज
नेपाली कांग्रेसका क्रियाशिल सदस्य सुर्य प्रसाद रेग्मीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेस बिपी पार्टीले बाँकेमा सहभागि हुने बताएका छन् ।
नेपाली कांग्रेसको नेतृत्वको कार्यशैलीबाट असन्तुष्ट बनेका रेग्मीले बिपीको बिचारलाई संस्थागत गर्नको लागि निर्वाचनमा जानु परेको बताए ।
त्यसको लागि पार्टीको बाँके जिल्ला कार्यसमिति गठन देखि लिएर अन्य तयारी भैरहेको रेग्मीले कालपृष्ठ दैनिकलाई बताए । केहि दिनभित्र जिल्ला भेला गरेर पार्टीको कार्यसमितिलाई पुर्णता दिने उनले बताए । अहिले बाँकेमा आफनो संयोजकत्वमा कामहरु अगाडी बढिरहेको रेग्मीले जानकारी गराए ।
नेपाली कांग्रेस बिपी पार्टीले करुवा चुनाव चिन्ह लिएर निर्वाचनमा जाने तयारी गरेको उनले जानकारी गराए । नेपाली कांग्रेस बिपी पार्टी २०७४ सालमा स्थापना भएको हो । गत वर्षको भदौं महिनामा पार्टीको प्रथम महाधिवेशन पनि भएको रेग्मीले दाबी बताए ।
नेपाली कांग्रेसका क्रियाशिल सदस्य रेग्मीले नेपाली कांग्रेस १४औं महाधिवेशनमा बाँके जिल्ला कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका थिए । संस्थापन र संस्थापन इतर दुबै प्यानलमा नपरेका उनी निर्वाचनमा पराजित भएका थिए ।
बैजनाथ गाउँपालिका वडा नम्बर ४ बानियाबार निवासी रेग्मीले २०५४ साल देखी नेपाली कांग्रेसको कार्यकर्ता रुपमा काम गरेको बताए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी बैजनाथ गाउँपालिका वडा नम्बर ४ बाट सदस्य पदमा पनि लडेका थिए ।
नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाले पार्टीको मर्म र निति विपरित गठबन्धन गरेर कांग्रेसलाई कुण्ठित पार्ने काम गरेको भन्दैं त्यसको बिरुद्धमा निर्वाचनमा भाग लिन लागेको उनले बताए ।