खाग र बाघका दाह्रा निकुञ्ज कार्यालयबाटै गायब
Friday, November 11th, 2022, 1:58 pm
Kalpristha
बर्दिया राष्ट्रिय निुकञ्ज कार्यालयबाट गैंडाको खाग र बाघको दाह्रा गायब पारिएको छ । घटना असोज १३ मा भए पनि भित्रभित्रै गुपचुप राखिएको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जको वार्डेनमा सरुवा भएर बर्दिया पुगेका अधिकृत अशोक भण्डारीले जिन्सी शाखामा रहेका सामानको अभिलेख गर्ने क्रममा गैंडाको एउटा खाग र बाघका २५ वटा दाह्रा हराएको पाइएको हो ।
मृत अवस्थामा फेला परेका वन्यजन्तुको छाला तथा आखेटोपहारलाई सुरक्षित गरेर राख्ने गरिन्छ । उक्त निकुञ्ज कार्यालयमा गैंडाका ३ वटा खाग थिए । कर्मचारीकै संलग्नतामा वन्यजन्तुको आखेटोपहार गायब पारिएको स्रोतले जनाएको छ ।
घटनालगत्तै वार्डेन भण्डारीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई जानकारी गराएका थिए । लगत्तै विभागले २४ घण्टाभित्र जवाफ पठाउन भन्दै असोज १४ मा निकुञ्ज कार्यालयलाई स्पष्टीकरण सोधेको थियो ।
निकुञ्ज कार्यालयले पठाएको स्पष्टीकरण चित्त नबुझेपछि विभागले असोज १४ मै वन्यजन्तु अपराध नियन्त्रण शाखाका प्रमुख मनोज शाहको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान सुरु गरेको थियो ।
समितिले कात्तिक २२ मा महानिर्देशक ढकाललाई प्रतिवेदन बुझाउँदै थप छानबिन गर्नुपर्ने औंल्याएको छ ।
उक्त प्रतिवेदनमा कार्यालयमातहत रहेको आखेटोपहार गायब पारिएको घटनामा कर्मचारीकै संलग्नता रहेको औंल्याउँदै थप छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको हो । प्रारम्भिक प्रतिवेदनले कर्मचारी संलग्न रहेको देखाए पनि शंकाको दायरामा परेका सबैमाथि निगरानी राखिएको विभागले जनाएको छ ।
घटना हुँदा बर्दिया राष्ट्रिय निकुञ्जको बार्डेन विष्णुप्रसाद श्रेष्ठ थिए । घटना आफूतर्फ सोझिएपछि श्रेष्ठले सरुवा हुँदा कार्यालयलाई सबै प्रतिवेदन बुझाएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।