‘भोट माग्न आउँदा आश्वासन दिन्छन्, तर पुरा गर्दैनन नेताहरु’
Saturday, November 12th, 2022, 3:51 pm
Kalpristha
भोट माग्न उनीकहाँ जाने हरेक उम्मेदवारलाई उनी आफ्नो समस्या बताईरहेकी हुन्छिन् । अहिले सम्म उनलाई भेट्ने सबै नेताले उनको समस्या समाधान गरिदिने आश्वासन पनि दिएका छन् । अघिल्लो चुनावमा भोट माग्न आउनेहरुले पनि यस्ता थुप्रै आश्वासन दिएको तर, जितेपछि आफ्नो आँगनमा नर्फकेको उनको गुनासो छ ।
लक्ष्मी तिमिल्सेना
देश निर्वाचनमा होमिएको छ । दलका कार्यकर्ताहरु यतिवेला घरदैलो आम सभा लगायतका माध्यमबाट जनता रिझाउनमा व्यस्त छन् । तर,नेपालगञ्ज उप–महानगरपालीका– ९ बाँकेगाँउ स्थित महाकाली टोलकादुर्गा चमारलाई चुवाव भन्दा पनि जिवन गुजाराकसरी गर्ने भन्ने पिर छ । घरमा कमाउने उनका श्रीमानले पनि यस वर्ष मिस्त्री काम गरेर खासै कमाउन सकेनन् ।
बेमौसमी बर्षका कारण कमाउन नसकेकै बेला त्यहि पानीले पुरानो माटोको घर चर्काईदियो । अहिले उनी आँगनमा भएको सानो टहरामा गुजारा गरिरहेकी छन् ।
भोट माग्न उनीकहाँ जाने हरेक उम्मेदवारलाई उनी आफ्नो समस्या बताईरहेकी हुन्छिन् । अहिले सम्म उनलाई भेट्ने सबै नेताले उनको समस्या समाधान गरिदिने आश्वासन पनि दिएका छन् ।
अघिल्लो चुनावमा भोट माग्न आउनेहरुले पनि यस्ता थुप्रै आश्वासन दिएको तर, जितेपछि आफ्नो आँगनमा नर्फकेको उनको गुनासो छ । भोट माग्न चुनावका बेला धेरै नेताहरु आउँछन, आश्वासन दिन्छन । तर उनीहरुले स्थानीयका समस्या चुनाव जितेपछि बिर्सन्छन् ।
‘भोट माग्न हलोवाला, सुर्यवाला, छातावाला, रुखवाला, जनावरवाला सबै आउँछन् ।पहिले पनि आएका थिए ।सबैले आशापनि दिन्छन् । तर, कसैले केहि गर्दैनन् ।’– दुर्गाले निराश हुंदै भनिन् ।
उनले कहिलेकाँही आफु माईतमा गएर गुजारा गर्ने गरेको बताउदै उनले अब जित्नेले आफुजस्ता निम्न वर्गिय परिवारका लागि आर्थिक उन्नतीका केहि कार्यक्रम ल्याईदिए जीवनयापनमा सहयोग पुग्ने बताईन् ।
उनकै छिमेकी सुरसता खटिकलाई पनि नेताले आश्वासन दिएका कुनैपनि काम नगरिदिएको बताउँछिन् । स्थानिय तहको चुनावका वेला भोट माग्न आएका नेतालाई आफ्नो टोलमा बाटो र खानेपानी लगायतका समस्याका बारेमा बताएकी थिईन् । तर, जितिसकेपछि नै समस्या लिएर जाँदा पनि जनप्रतिनिधिले ‘समय छैन’ भन्दै आफुहरुको कुरापनि नसुनिदिएको सुरसता बताउँछिन् ।
‘चुनाव अघि नमस्ते गर्दै भोट माग्नेहरु चुनाव पछि चिन्दैनन् । अनि फेरी गएर उहि नेतालाई भोट हाल्न हाम्रो आत्माले कसरी दिन्छ भन्नुस त ? अव त कुनैपनि नेता प्रति मेरो भरोसा छैन ।’– सुरसताले गुनासो गरिन् ।
‘मलाई देउ भनेको त हैन । कमसेकम हाम्रा समस्याका बारेमा सुनिदिए र त्यसमा अलिकति सहयोग गरिदिए पुग्छ । नेतासंग हाम्रो कुनै ठुलो अपेक्षा वा माग पनि छैन ।
हामीलाई बाटोघाटो, सहज शिक्षा र सुलभ स्वास्थ्य सेवा तथा रोजगार जस्ता स–साना कुराहरु भए पुग्छ ।
बाँकी त हामी आफ्नो लागि आफै गर्छौं ।’
क्याप्सन: नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ९ स्थित महाकाली निवासी दुर्गा चमार सहित स्थानीय । तस्विर: कालपृष्ठ