सबै प्रदेशका सवारीमा कर एकरुपता छैन
Saturday, November 12th, 2022, 5:36 pm
Kalpristha
प्रत्येक आर्थिक वर्षका लागि करका दर निर्धारण गर्ने अधिकारी संघबाट प्रदेश सरकारहरुमा गएपछि एकरुपता निर्धारण नभएको पाइएको छ ।
कुनै प्रदेशले अघिल्लो वर्षकै दरलाई निरन्तरता दिएका छन् भने कुनैले बढाएका छन् । वाग्मती प्रदेश सरकारले यो वर्ष पनि सवारी साधनको करमा भएको पुरानै दरलाई निरन्तरता दिएको छ । वाग्मतीमा दर्ता भएका सवारी साधनले पहिलेकै दर अनुसारको कर तिर्नु पर्नेछ ।
प्रदेश सरकारहरुले कर संकलन गर्दा आ–आफ्नै प्रदेश अनुसार करको दर राख्ने गरेका छन् । यसमा पनि सवारी साधनको सीसी क्षमता अनुसार करको दर निर्धारण हुने गर्छ ।
सबैभन्दा धेरै सवारीसाधन वाग्मती प्रदेशमा दर्ता भएकाले यही प्रदेशमा सवारी कर धेरै उठ्छ । सवारी धनीले बीमा गरेर मात्रै नवीकरण गराउन पाउँछन् । त्यसैले यातायात व्यवस्था कार्यालयले लिने वार्षिक करको खर्चभन्दा छुट्टै पर्छ बीमाको खर्च ।
लुम्बिनी प्रदेशमा मोटरसाइकल तथा स्कुटरको वार्षिक कर २५०० देखि २० हजार रुपैयाँसम्म रहेको छ । यसमा १२५ सीसीसम्मको लागि २५००, १२६ सीसदेखि २५० सीसी सम्मका लागि ४५००, २५१ देखि ४०० सीसीसम्मका लागि ९५०० र ४०० सीसीभन्दा माथि २०००० हजार रुपैयाँ छ ।
यो प्रदेशमा भने निजी विद्युतीय सवारीसाधनको वार्षिक कर तिर्नुपर्छ । जसमा विद्युतीय मोटरसाइकल तथा स्कुटर ३५० वाटदेखि १००० वाटसम्म १५००, १००१ वाटदेखि १५०० वाटसम्म २००० र १५०१ वाटभन्दा माथि ३००० रुपैयाँ तिर्नुपर्छ ।
यसैगरी कार, जीप, भ्यान र माइक्रोबस १००० सीसी क्षमतासम्म २० हजार, १००१ सीसीदेखि १५०० सीसीसम्म २२ हजार, १५०१ सीसीदेखि २००० सीसीसम्म २५ हजार रुपैयाँ वार्षिक कर तर्नुपर्छ ।
यसैगरी २००१ सीसीदेखी २५०० सीसीसम्मका सवारीले ३४ हजार, २५०१ सीसीदेखि २९०० सीसीसम्म ३९ हजार र २९०१ सीसीभन्दा माथिका सवारीले ५५ हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ ।
यस्तै विद्युतीय कार, जीप, भ्यान र माइक्रोबस ५० किलोवाटदेखि १२५ किलोवाट क्षमतासम्मको १५ हजार, १२६ किलोवाटदेखि २२५ किलोवाटसम्मको लागि २० हजार र २२६ किलोवाट भन्दा माथि सबैले ३० हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ ।