विश्वको दोस्रो ठूलो क्रिप्टो लेनदेन कम्पनी टाट पल्टियो
Saturday, November 12th, 2022, 6:39 pm
Kalpristha
एजेन्सी : क्रिप्टोकरेन्सी एक्सचेन्ज(लेनदेन) कम्पनी एफटी एक्सले अमेरिकामा टाट पल्टिएको निवेदन दायर गरेको छ । कम्पनीले अदालतसँग सुरक्षा माग्दै आफूले ग्राहकहरूको पैसा फिर्ता गर्ने उपाय खोजिरहेको बताएको छ । यो घोषणासँगै एफटी एक्सका प्रमुख कार्यकारी अधिकृत स्याम बैंक म्यान–फ्राइडले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । ३० वर्षीय स्यामले कम्पनीको स्थितिको कारण राजीनामा दिएका हुन् ।
एक हप्ताको अन्तरमा एफटी एक्सको साम्राज्यको पतन भएपछि केही समयदेखि संकटमा गुज्रिरहेको क्रिप्टो बजारको विश्वास धर्मराएको छ ।कम्पनीको पतन हुनुअघि, स्याम क्रिप्टो बजारका हस्ती मानिन्थे । १५ अर्ब डलर नजिकको सम्पति पुगेका स्यामको तुलना दिग्गज लगानीकर्ता वारेन बफेटसँग हुन थालेको थियो । एफटीएक्स लगायत स्यामको स्वामित्वमा रहेका अन्य व्यवसायमा वित्तीय समस्या आएको हल्लापछि एक्कैपटक ठूलो संख्यामा ग्राहकहरूले एफटी एक्सबाट पैसा निकाल्न प्रयास गर्दा यस्तो स्थिति आएको बताइन्छ ।
डिजिटल टोकनहरू किनबेचमा प्रयोग हुने एफटी एक्सको नगदको संकट उत्पन्नलाई समाधान गर्न स्यामले प्रयास गरे पनि त्यो सफल हुनसकेन । यसका कारण लाखौं ग्राहकहरूको पैसा एफटीएक्समा फसेको छ, जुन उनीहरू अहिले निकाल्न सकिरहेका छैनन् ।
टाट पल्टिएको आवेदन दिएपछि, कम्पनीले अदालतको निगरानीमा काम गर्नेछ र त्यस अन्तरालमा कम्पनीले उसका ऋण पुनर्संरचना गर्न सक्छ ।