तटबन्धको समस्या हामी समाधान गछौंः बादशाह कुर्मी
Sunday, November 13th, 2022, 9:58 pm
Kalpristha
नेपालगन्ज : बाँके क्षेत्र नम्बर ३ (ख)बाट प्रदेश सभा उम्मेदवार बादशाह कुर्मीले मानखोलाले हरेक वर्ष कटान गर्दै आएको किसानको जमिनलाई संरक्षण गर्न आफुहरु प्रतिवद्ध रहेको बताएका छन् । खजुरा गाउँपालिकाको वडा नम्बर २ स्थित गुराँसपुरमा भएको कार्यक्रममा उम्मेदवार बादशाहले स्थानीय जनतासँग भेटघाट गर्दै समस्या समाधान गर्ने प्रतिवद्धता गरेका थिए ।
बाँकेको खजुरा गाउँपालिमा हजारौ किसानको जमिन मानखोला नदीको कारण कटान भैरहेको समस्यालाई तटबन्धको माध्यमबाट संरक्षण गर्ने बताएका छन् । नेपाली कांग्रेसका उम्मेवार बादशाहले भने, ‘हामीलाई विश्वास गर्नुहोस । प्रदेश र केन्द्रमा हाम्रो सरकार बन्ने बित्तिकै हामी तटबन्ध गर्दै जनताको जमिनलाई संरक्षण गछौं ।’
कुर्मीले भोट पाउनको लागि जनतामाझ झुट नबोल्ने बताएका छन् । उनले भने,‘ हामी झुटको राजनीति गदैनौं । मैले आफनो जीवन जनताको सेवामा समर्पित गरेको छु । दुई पटक संविधान सभाको सदस्य भए । यसअघि पनि यस क्षेत्रबाट मैले चुनाव लडेको थिए । तर हारे । नन्दलाल र बाबुराम जीले चुनाव जित्नु भयो । उहाँहरुको स्थानीय तह, प्रदेश, केन्द्र तिनै ठाउँमा सरकार थियो । तर उहाँहरुले यस क्षेत्रको विकास कति गर्नु भयो त्यो सबैलाई थाहा छ ।’
उम्मेदवार कुर्मीले परसपुर–गौघाट सडक र किरण नालाको पुल यसै वर्ष पुरा गर्ने बाचा गरेको छन् । उनले भने,‘परसपुर–गौघाट सडक खण्ड चार वटा गाविस अध्यक्षले मिलेर नक्सा बनाएर सुरुआत गरेका थियौं । त्यसको नेतृत्व मैले गरेको थियो । त्यसयता सडकको स्तरउन्नती हुन सकेको छैन । हामी विजयी भए यसै वर्ष पिच गर्नेछौं ।’
खजुरा गाउँपालिकामा कृषकको आर्यस्रोत बढाउन सिंचाई सुविधालाई सहज गराउने उम्मेदवार कुर्मीले संकल्प लिएको बताए । उनले भने, ‘बाँके क्षेत्र नम्बर ३ भनेको कृषि क्षेत्र हो । यस क्षेत्रको विकासमा कृषिले महत्वपुर्ण भुमिका खेलेको छ । कृषि क्षेत्रलाई व्यवसायिक बनाउने योजना सहित हामी चुनावी मैदानमा छौं । किसानको सुरक्षा, सहज रुपमा मल, बिउँको उपलब्धतालाई हामीले अध्ययन गरेका छौं । वडा देखी लिएर केन्द्र सम्मको एउटा निति बनाएर काम गर्नेछौं ।’