सामाजिक संजालको दुरुपयोग गर्दै उम्मेदवार
Monday, November 14th, 2022, 4:09 pm
Kalpristha
चुनाव प्रचारको गतिलो र प्रभावकारी माध्यम सामाजिक सञ्जाल बन्दै गएको छ । तर, प्रविधिको गलत प्रयोग बढ्दै गएको छ । जसका कारण निर्वाचन आचार संहिताको उल्लघन समेत हुन थालेको पाईएको छ ।
लक्ष्मी तिमिल्सेना
लोकतन्त्रको आधार स्तम्भ निर्वाचन हो । अहिले देश निर्वाचनमा होमिएको छ । समयसंगै निर्वाचनका वेला दलहरुले गर्ने प्रचार शैलीपनि फेरिएको छ ।
अघिल्लो निर्वाचन सम्म दलहरुका पर्चा, झण्डा, व्यानर र ‘टि–सर्ट’ छाप्न भ्याईनभ्याई हुने गर्दथ्यो । तर, पछिल्ला निर्वाचनहरुमा प्रचारशैलीको शैली फेरिएको छ । दलहरुले आफ्ना पर्चा, झण्डा, व्यानर र ‘टि–सर्ट’ छाप्नुको साटो प्रविधिको माध्यम बाट आफ्नो प्रचार गरिरहेका छन् ।

…
अहिले प्राय सबै राजनितिक दलका उम्मेदवार र पार्टीले प्रचारका लागि सामाजिक संजालको प्रयोग गरिरहेका छन् । निश्चित शुल्क तिरेर प्रचार गर्नेमा बाँकेबाट मोहम्मद इस्तियाक राई अगाडी छन् । फेसबुक संचालन गरिरहेको मेटाको रेकर्ड अनुसार पछिल्लो ३० दिनमा सामाजिक संजालमा धेरै प्रचार गर्ने उम्मेदवारहरुमा पर्छन मोहम्मद इस्तियाक राई, डा. धवल शमसेर राणा, किशोर सिंह राठौर, किस्मत कुमार कक्षपति ।
चुनाव प्रचारको गतिलो र प्रभावकारी माध्यम सामाजिक सञ्जाल बन्दै गएको छ । तर, प्रविधिको गलत प्रयोग बढ्दै गएको छ । जसका कारण निर्वाचन आचार संहिताको उल्लघन समेत हुन थालेको पाईएको छ । फेसबुकको मेटा एड लाईब्रेरी मै हेर्ने हो भने पनि पैसा तिरेर सन्चालन गरिएका ‘नेपालगन्ज धरोहर, द पब्लिक, चेन्ज मेकरर्स र युवा अभियान’ लगायतका फेसबुक पेजहरुबाट डा. धवललाई बदनाम गराउने कार्य भैरहेको छ भने मोहम्मद इस्तियार राईको पक्षमा विभिन्न पोस्ट आइरहेका छन् । जुन निर्वाचन आचार संहिता विरुद्ध हो ।
माथि उल्लेखित फेसबुक पेजलाई सक्रिय बनाउन ५ सय ३४ अमेरिकी डलर एक महिना मै खर्च गरिएको पाईएको छ ।
निर्वाचन स्वच्छ, निश्पक्ष, शान्त र भयरहित तरिकाले सम्पन्न गराउनको लागि निर्वाचन आयोगले सबैका लागि आचारसंहिता लागु गरेको छ ।

….
निर्वाचन आयोगको निर्वाचन आचार संहिता २०७९को परिच्छेद–२ को बुँदा नम्बर ४ ले सामाजिक सञ्जालमा गलत, भ्रामक द्वेषपुर्ण सुचना प्रवाह गर्न वा गराउन नहुने, निर्वाचनमा प्रतिकुल प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा एकाउण्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न या सञ्चालन गर्न वा गराउन नहुने, सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सुचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने, कुनै प्रयोजनका लागि प्रकासन वा प्रशारण भएको सूचना या सामग्रीलाई तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा गराउन नहुने कुरा उल्लेख गरिएको छ ।
बाँके जिल्ला आचारसंहिता अनुगमन समितिका अनुगमन अधिकृत खडानन्द अधिकारीले भ्रामक सुचना र द्वेषपुर्ण अभिव्यक्ति फेक पेज मार्फत आएको कुराको गुनासो व्यापक रुपमा आफुहरु कहाँ पनि आएको बताए । उनले यसका लागि केन्द्रमै टास्कफोर्सको व्यवस्था भएको बताउदै अनुगमन समितिका अनुगमन अधिकृत अधिकारीले लिखित कसैके उजुरी नआएसम्म आफुहरुले केहि गर्न नसक्ने बताए ।