विश्व स्तरको सौन्दर्य केयर सेवा नेपालगन्जमा सुरु
Friday, November 25th, 2022, 9:28 pm
Kalpristha
नेपालको ‘क’ वर्गको सेवा प्रदान गर्दै आएको एचसीआरसीले विभिन्न सेवा थप्दै लग्ने योजना बनाएको बताउँछन् अस्पतालका संस्थापक डा. कुमार सान शाह । पश्चिम नेपालमा विश्वस्तरीय उच्च गुणस्तरको प्रविधिको प्रयोग गरेर सेवा दिने आफनो लक्ष्य रहेको उनले बताए ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ मंसिर
नेपालगन्जको एचसीआरसी अस्पतालले पश्चिम नेपालमा पहिलो पटक सौन्दर्य केयरका लागि एचसीआरसी एस्थेटिक्स सेवा सुरु गरेको छ । शुक्रबार अस्पतालले सोपरानो आइस प्लाटिनम लेजर उपकर भित्रयाएको छ ।
अब एचसीआरसी एस्थेटिक्स सेवा मार्फत शरीरमा रहेको अनावश्यक रौं सधैका लागि हटाउने, बोटक्स, फिलर्स तथा फेस लिफटिङ प्रविधिबाट झोलिएको छाला र चाउरीपन हटाउने, योनीलाई कसिलो बनाउने, महिलाहरुको पिसाब चुहिने समस्या, पाठेघरको जाँच र पाठेघरको मुख सेकाईको उपचार गरिनेछ ।
यसैगरी शरीरमा रहेको ट्याटु हटाउने, छालामा भएका खाल्टाखुल्टी मिलाउने, मुसा, कोठी, मासु पलाएको हटाउने, कपाल उमार्ने, छालामा भएको रोग पत्ता लगाउने, छाला, यौन तथा कुष्टरोग उपचार, हाईडा फेसियल, कार्वन फेसियल, भ्याम्पायर फेसियल जस्ता सेवा अस्पतालले सुरु गरेको छ ।
शुक्रबार बाँके क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. धवल शम्मशेर राणाको प्रमुख आथित्यमा लेजर उपकरणको वितरक अल्मा लेजर नेपालका कार्यकारी प्रमुख रामशरण मल्लले उपकरको साँचो एचसीआरसी अस्पतालका संस्थापक डा.कुमार सान शाह र डा. मन्जु विसी शाहलाई हस्तान्त्रण गरे ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १० चारबाहिनी रोडमा रहेको एचसीआरसी अस्पतालले विश्वस्तरको सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा थप नयाँ सेवा थप्ने क्रममा एचसीआरसीले एस्थेटिक्स सेवा सुरु गरेको हो । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. धवलले नेपालगन्जको आर्थिक उन्नतीमा मेडिकल पर्यटन पनि एउटा महत्वपुर्ण खम्बा रहेको बताए ।
एचसीआरसीले विश्व स्तरको सेवा नेपालगन्जमा सुरु गरेकोमा बधाई दिदै राणाले भने, ‘नेपालगन्जको एउटा खम्बा मेडिकल पनि हो । मेडिकल टुरिजम विश्वमा धेरै अघि चल्दै आएको छ । यसका धेरै सम्भावना छन नेपालगन्जमा । नेपालगन्ज साविकको मध्य र सुदुरपश्चिमको मेडिकल हब हो । तर यतिले मात्र हुँदैन । मेडिकल टुरिजम भारतबाट नेपालतर्फ ल्याउन सके अझ धेरै फाइदा लिन सकिन्छ । धेरैलाई यो सुन्दा अप्ठयारो लाग्छ तर त्यो सकिन्छ ।’
३० वर्ष पहिले नेपालगन्जका मानिस भारतमा आँखा उपचार गराउन जाने गरेको प्रसंग सुनाउँदै डा. धवलले भने, ‘अहिले हरेक वर्ष भारतको उत्तर प्रदेशबाट नेपालगन्जको फत्तेबाल आँखा अस्पतालमा उपचार गराउन आउँछन । त्यो प्रविधिको प्रयोगले सेवा राम्रो भएर हो । आज एचसीआरसीले त्यो काम गर्दैछ । मेडिकल संस्थालाई राज्यले सहजीकरण गरिदिने हो । प्रोत्साहन दिने हो । यही सेवा लिन भारतबाट ठुलो संख्यामा यहाँ मानिस आउँन सक्छन् । त्यसको सम्भावना खोज्ने हो ।’
नेपालको ‘क’ वर्गको सेवा प्रदान गर्दै आएको एचसीआरसीले विभिन्न सेवा थप्दै लग्ने योजना बनाएको बताउँछन् अस्पतालका संस्थापक डा. कुमार सान शाह । पश्चिम नेपालमा विश्वस्तरीय उच्च गुणस्तरको प्रविधिको प्रयोग गरेर सेवा दिने आफनो लक्ष्य रहेको उनले बताए । डा. शाहले भने,‘कुनै पनि काम गर्नु अघि सोच हुनु पर्छ । सोच भएपछि बाटोहरु आफै आउँछन् । धेरैले पश्चिम नेपालमा मेडिकल क्षेत्रमा केहि छैन भन्ने सोच्छन् । तर हामी एचसीआरसीमा विश्वस्तरको सेवा प्रदान गर्नेछौं । त्यही अनुसार हामी उपकरण र व्यवस्थापनमा ध्यान दिएका छौं ।’
एचसीआरसी अस्पतालका व्यवस्थापक रमेश सिटौलाका अनुसार हाल अस्पतालमा स्वास्थ्य परिक्षणको विशेषज्ञ सेवा, जनरल मेडिसिन सेवा, बाल रोग, अत्याधुनिक अप्रेशन थिएटर ओटी, अत्याधुनिक एनआइसीयु, अत्याधुनिक एमरजेन्सी सेवा, प्रसुती सेवा, बाँझोपनको उपचार, प्रजनन् स्वास्थ्य सम्बन्धी सम्पुर्ण सेवा, पाठेघर सम्बन्धी सम्पुर्ण शल्यक्रिया, पाठेघरको क्यान्सर पहिचान, पाठेघरको सेकाई, परिवार नियोजन सम्बन्धी सम्पुर्ण सेवा लगायतका अन्य विविध सेवाहरु उपलब्ध रहेका छन् । निकट भविष्यमा दुरबिनबाट अप्रेशन गर्ने सेवा र कपाल प्रत्यारोपण गर्ने सेवा सुरु गर्ने तयारी भएको सिटौलाले कालपृष्ठ दैनिकलाई बताए ।