नेपालगन्जमा प्राइम सेवा सुरुआत गर्ने तयारी
Monday, November 28th, 2022, 9:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ मंसिर
नेपालगन्जमा यातायात क्षेत्रमा काम गर्ने उद्देश्य सहित प्राइम सेवा सुरुआत हुने तयारी भएको छ । जसले मानिसलाई प्रविधिको प्रयोग गरेर यातायात सेवा उपलब्ध गराउनेछ ।
पछिल्लो समय काठमाडौंमा ‘पठाऔ’, इन्ड्राईभ’ जस्ता प्रविधिमैत्री यातायात सेवाले जनतालाई सहयोग गर्दै आएका छन् ।
यातायातसँगै अन्य विभिन्न क्षेत्रमा काम गर्ने उद्देश्य सहित क्यासनेट नामक कम्पनीले नेपालगन्जमा प्राइम सेवा सुरुआत गर्ने तयारी गरिरहेको छ । क्यास नेटका संचालक राजन अधिकारीले नेपालगन्जमा प्राइम सेवा छिटै सुरुआत गर्ने बारेमा छलफल भैरहेको बताए । प्राइम सेवाले मानिसलाई थोरै शुल्कमा गुणस्तरीय सेवा दिन सक्ने उनले दाबी गरे ।
सोमबार नेपालगन्जमा पत्रकारहरुसँग कुराकानी गर्दै अधिकारीले आफना योजनाहरुको बारेमा जानकारी गराएका थिए ।
उनले भने,‘प्राइम सेवा एउटा एप हो । यसमा ६४ वटा विधा छन् । अस्पताल, शिक्षक, नर्स आवश्यकता पर्ने, घरमा प्रयोग ग्यास पाउने सुविधा जस्ता थुप्रै मानिसको जीवनमा प्रयोग गरिने आवश्यकताहरुलाई हामीले समेटेर प्राइम सेवाको निर्माण गरेका छौं । यसका बारेमा अझै अध्ययन भैरहेको छ । हामी छिटै नेपालगन्जमा त्यो सेवा सुरु गर्ने तयारी गरिरहेका छौं ।’
क्यास नेटले आफनै सामाजिक संजाल निर्माण गरी जनतालाई सहि सुचना र सामाजिक संजालबाट हुने हानीलाई रोक्न सहयोग गरिरहेको अधिकारीले बताए । योग गुरु समेत रहेका अधिकारीले नेपालमा युवाहरुले सकारात्मक भएर काम गर्नका लागि थुप्रै क्षेत्रहरु रहेको बताए । उनले भने,‘हाम्रो देशमा धेरै कुरा छ । हामी सानो जनसंख्या भएको देश । यहाँ थुप्रै सम्भावनाका क्षेत्र छन् । तर युवाहरुले त्यसमा ध्यान दिदैनन् । राज्यको नीति निर्माण गर्ने तहमा भएकाहरुले इमानदारिताका साथ काम नगर्दा अहिले देश गरिब छ । हामीले हाम्रै देशमा गर्न सक्छौं भन्नको लागि मैले विभिन्न क्षेत्रमा नमुना काम गर्ने गरेको छु ।’