उप–विजेता बन्यो बाँकेको ड्रिमल्यान्ड स्कुल
Tuesday, December 6th, 2022, 6:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० मंसिर
नेपाली सेनाको बज्रदल गण इमामनगर ब्यारेक राँझाले आयोजना गरेको स्कुलस्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार राँझा स्थित बज्रदलको फुटबल मैदानमा भएको फाइनल खेलमा अरनिको इङलिस मिडियम स्कुलले बाँकेको ड्रिमल्यान्ड इङलिस मिडियम स्कुललाई टाइब्रेकरमा पराजित गरेको छ ।

……..
२५-२५ मिनेट खेलाइएको खेलको निर्धारित समयमा दुबै टिमले गोल गर्न सकेका थिएनन् । टाइब्रेकरमा भने बर्दियाको अरनिकोले जित हासिल गरेको थियो ।
बज्रदल गण इमामनगर ब्यारेक राँझाले आयोजना गरेको स्कुलस्तरीय फुटबल प्रतियोगितामा बाँके र बर्दिया जिल्लामा रहेको आर्मीको सुचिकृत १६ विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा ड्रिमल्यान्डका विप्लव उत्कृष्ट गोलकिपरको रुपमा पुरस्कृत भएका थिए ।

………..
प्रतियोगितामा विजेता भएका खेलाडीलाई श्री नम्बर ४ बाहिनी अड्डा बाहिनीपति सहायक रथी उत्तमकुमार विष्ट, बज्रदल गणका गणपति प्रमुख सेनानी श्याम आत्रेय पौडेल, प्रतियोगिता संयोजक किसन गुरुङ, लुम्बिनी प्रदेश फुटबल संघका उपाध्यक्ष सूर्यमणि अधिकारी लगायतले पुरस्कृत गरेका थिए ।
प्रतियोगिताको अवसर पारेर बज्रदल गण इमामनगर ब्यारेक राँझाले विद्यार्थीहरुका माझ नेपाली सेनाको इतिहास र महत्व झल्काउने सेना सम्बन्धी प्रदर्शनी गरेको थियो । ब्यारेक हाताभित्र विभिन्न दश स्टल राखेर प्रर्दशनी गरिइएको थियो । प्रर्दशनीमा नेपाली सेनाले गर्ने काम, प्रयोग गर्ने हतियार, सवारी साधान, पोशाक लगायतका बारेमा जानकारी गराउने प्रयास गरिएको थियो ।