हिंसा न्यूनीकरणका लागि सरोकारवालसंग अन्तरक्रिया
Friday, December 9th, 2022, 9:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ मंसिर
दिवसीय कार्यक्रमहरु बाहेक जनचेताना मुलक कार्यक्रमलाई निरन्तरता दिन नसक्दा हिंसा न्यूनिकरण हुन नसकेको अधिकारकर्मीहरुले औल्याएका छन् । अधिकारका कुरा कागजमै सिमित भएकाले पनि लैङ्गिक हिंसा न्यूनिकरण हुन नसकेको बाँकेका अधिकारकर्मीहरुले औल्याएका हुन् ।
शुक्रबार संन्चारिका समूह बाँकेद्वारा आयोजित लैंगिक हिंसाको अवस्था र सरोकारावालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेपालमा हिंसाका बिषयमा एसियाकै उत्कृष्ट कानून भएतापनि व्यवस्थालाई सही ढंगले कार्यान्वयन गर्न नसकेकाले दिनहु महिला हिंसाको तथ्याङकमा वृद्वी हुने गरेको कानून व्यवसायी सुनिता शर्माले बताईन् ।
बाँकेमा पछिलो समयमा आत्महत्या, हिंसा, र बलात्कारको घटना धेरै भैरहेको बताउदै कानून व्यवसायी शर्माले अदालत अघि आन्दोलन गर्नुभन्दा अनुसन्धानका बेला चनाखो हुनुपर्नेमा जोड दिईन् ।
सरकारले करोडौ रुपैंया खर्च गर्दा समेत लैङ्गिक हिंसाको न्यूनिकरण हुन नसकेको बताउदै नेपालगन्ज उप–महानगरपालिकाका महिला विकास अधिकृत मञ्जु पाण्डेले चेतनाको स्तरमा परिवर्तन नभएसम्म यस क्षेत्रमा गरेको लगानी खेर गैरहेको बताईन् ।
लैंगिक हिंसाका स्वरुपहरु परिवर्तन भएको कुरा उल्लेख गर्दै अधिकारकर्मि कमला पन्तले सचेतनाको शैलिमा पनि परिवर्तन गर्न जरुरी रहेको बताईन् ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका सरस्वती मल्ल, निलसागर सेवा आश्रमका संस्थापक अध्यक्ष सरिता खनाल, महिला तथा बालबालिका सेवा केन्द्र बाँकेका प्रमुख प्रहरी निरिक्षक महेश्वरी विष्ट, राजनितिक दलका प्रतिनिधि, सन्चारकर्मी लगायतले महिला हिंसाका समस्यालाई मात्र उजागर गर्ने नभई समाधान र बनेका कानुन्हरुको कार्यान्वयनमा जान आवश्यक रहेको बताएका थिए ।
संन्चारिका समूह बाँकेका अध्यक्ष रुपनि घर्ति मगरको अध्यक्षता रहेको सो कार्यक्रम नेपालगन्ज उप–महानगरपालिकाको समन्वयमा सम्पन्न भएको थियो ।