जाजरकोट जिप दुर्घटनाः ११ जनाको मृत्यु
Monday, December 12th, 2022, 7:59 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ मंसिर
जाजरकोटमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । जिल्लाको छेडागाड नगरपालिका–५ मा सोमबार अपराह्न ४ बजे भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छेडागाड–४ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए ।
वडा नम्बर ४ स्थित खातीजेवामा भएको विवाहको जन्ती बोकेको कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जिप भीरपाटीमा दुर्घटनामा परेको हो । जिप मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
वडाध्यक्ष थापाका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि नेपालगञ्ज पठाइएको छ । उक्त जिप विवाह भोजमा सहभागी भएका एक जना जन्ती बिरामी परेपछि उपचारका लागि थलह बजार ल्याउन लागिएको थियो ।
पीच बाटोमा एक्कासी गाडी कसरी खस्यो भन्ने खुलेको छैन । मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका–२ दैलेखका चालक मानबहादुर रावत, भगवतीमाई–३ का सुरेन्द्र केसी, अम्मरबहादुर खड्का, छेडागाड –५ का जयकुमार बुढा, नैनसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मरबहादुर अधिकारी, २ वर्षीया बालिका निशा अधिकारी छन् ।
दुर्घटनामा घाइते भएका अम्मर र बालिका निशाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । यस्तै छेडागाड–६ का वीरबहादुर खत्री, रामबहादुर बुढाको पनि घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष थापाले जानकारी दिए ।
यो समाचार तयार पार्दासम्म दुर्घटनामा घाइते भएका जैमान अधिकारीलाई उपचारका लागि नेपालगञ्ज ल्याईदै छ ।