तिन महिना पछि भेरीमा पालो पाउँछन् डायलासिसका बिरामीले
Saturday, December 17th, 2022, 6:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
भेरी अस्पताल नेपालगन्जमा मृगौलाका बिरामीले डायलासिसका लागि लामो समयसम्म पालो कुनुपर्ने बाध्यता छ । लामो समयदेखि लाइनमा बस्दा ३ महिनापछि मात्रै आफुहरुको पालो आएको बढैयातल गाँउपालिका– ४ की मिना थारुले बताईन् ।
अस्पतालको हेमोडायलासिस युनिटका अनुसार भदौदेखि ८६ जना बिरामीले पालो कुरिरहेका छन् । उनीहरुले भदौ देखि अहिलेसम्म कुर्दा पनि पालो पाएका छैनन् ।
पालो कुरिरहेका कतिपय व्यक्तिहरुको निधनसमेत भइसकेको अस्पतालका पारामेडिक कर्मचारी रामकोठारी थारुले बताए । उनले भने,‘कतिपयको पालो आएकाबेला हामीले फोन गछौं । तर उताबाट कतिपयको मृत्यु भैसकेको खबर आउँछ भने कतिपय निजि अस्पतालहरुमा डायलायसिस गर्न गएको भन्नुहुन्छ ।’
भेरीमा चार वटा डायलासिस मेसिन सन्चालनमा छन् । तीमध्येमा एउटा आपतकालिन अवस्थामा र अरु तीन वटालाई नियमित विरामीलाई प्रयोग गर्ने गरिएको छ । भेरीमा अहिले २७ जना बिरामीले नियमित डायलासिस गराइरहेका छन् । २४ घण्टामा तीन चरणमा सन्चालन हुने डायलायसिस सेवा १ पटकमा ४ घण्टा सन्चालन हुन्छ ।
अस्पतालमा थप ६ वटा मेसिन केहि समय पहिले नै आईपुगेका थिए । मेसिन आएको धेरै भइसकेपनि जडान गरिएको छैन । डायलासिस सेवा नयाँ भवनमा नसरिसकेको र उपलव्ध मेसिनहरु सबै सन्चालनमा ल्याउन नसक्दा विरामीले पालो कुर्नुपरेको अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठ बताउँछन् ।
यद्यपी केहिले काँही मेसिन विग्रेको समयमा बाहेक अरुबेला सेवा भने नरोकिएको उनको तर्क छ । कोहलपुरमा सन्चालित डायलासिस सेवा रोकिदा धेरै बिरानी भेरीमा आउँदा यहाँ चाप बढेको अस्पताल व्यवस्थापन समितिका सदस्य श्रेष्ठले कालपृष्ठ दैनिकलाई बताए । उनले भने,‘अबको ३ महिनामा नयाँ भवनमा हामी डायालायसिस सेवा सार्छौं । त्यसतगत्तै सबै मेसिनहरु पनि सन्चालनमा आउछन् । पालो कुर्ने समस्या केहि हदसम्म भएपनि समाधान हुन्छ । पछिल्लो समयमा अत्यधित विरामिको चाप बढ्यो जसका कारण पालो सेवाग्रहिले पालो कुर्नुपरेको छ । अस्पतालले सेवा उपलव्ध नगराएको भने होईन ।’
उनी भन्छन, ‘समस्या के छ भने हामीले हामीसंग उपलव्ध भएका मेसिन समेत ठाँउ अभावका कारण सन्चालन गर्न सकेका छैनौं । अबको ३ महिनामा भने हामी नयाँ भवनमा सर्ने वित्तिकै सबैै मेसिनहरु सन्चानलनमा ल्याउने छौं । सहज डायलायसिस सेवाका लागि ३ महिना कुर्नै पर्छ । त्यहाँ जाने वित्तिकै कम्तिमा पनि हामी १०–१२ वटा मेसिन सन्चालन गर्नसक्ने हुन्छौं । र पालो कुर्नुपर्ने बाध्यता केहि हदसम्म भएपनि हटेर जानेछ ।’