नेपालगन्जमा चौथो प्याब्सन भलिबल सुरु
Friday, December 23rd, 2022, 10:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ पुष
विद्यार्थीको खेलकुद स्तर बढाउने उद्देश्य सहित निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालगन्ज नगर कार्यसमितिको आयोजनामा युनाइटेड चौथो प्याब्सन भलिबल कप प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
प्याब्सन दिवसको अवसरलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरिएको हो । नेपालगन्जमा भएको प्रतियोगितालाई युनाइटेड एजुकेसनल एकेडेमी नेपालगन्जले मुख्य प्रायोजन गरेको छ ।
प्रतियोगितामा नेपालगन्ज नगर प्याब्सनसँग आवद्ध १८ बिधालयले सहभागिता जनाएका छन । शुक्रबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका वन बातावरण तथा भुसंरक्षण मन्त्री सुरेन्द्र हमालले रेफ्रीहरुलाई बल दिएर प्रतियोगिताको उद्घाटन गरेका थिए । नेपालगन्ज नगर प्याब्सन अध्यक्ष बिकास बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा अतिथिको रुपमा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तरुण कुमार बज्राचार्य लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । उद्घाटन समारोहमा नेपालगन्ज नगर प्याब्सनका सह–सचिव हेमन्त काफलेले स्वागत मन्त्ब्य राखेका थिए ।
तिन दिने प्रतियोगितामा बिधालय स्तरीय शिक्षकहरुको पनि खेल राखिएको छ । विद्यार्थीको क्षमता अभिवृद्धि गर्दै खेलकुद प्रति रुची जगाउन प्रतियोगिताले सहयोग गर्ने प्याब्सन नेपालगन्ज नगरका अध्यक्ष विकास बज्राचार्यले बताए । प्रतियोगिताले विद्यालय स्तरबाट क्षमतावान खेलाडी उत्पादनमा पनि सहयोग गर्ने उनले बताएका थिए ।
क्याप्सनः रेफ्रीलाई बल दिएर प्रतियोगिताको उद्घाटन गरिदैं ।