चोरी पैठारी रोक्न जमुनाहा नाकामा कडाई
Thursday, January 19th, 2023, 7:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ माघ
नेपालगन्जको जमुनाहास्थित नेपाल भारत सीमा नाकाबाट हुँदै आएको अवैध चोरी पैठारी नियन्त्रणमा कडाइ गरिएको छ । सरकारको निर्देशन आएपछि नाकामा कडाइ शुरु गरेर चोरी पैठारीलाई शून्यमा झार्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले नयाँ सरकार गठन भए लगत्तै सीमा नाकामा कडाई गरेर अवैध आयात निर्यात शून्यमा झार्ने निर्देशन आएपछि कडाई शुरु गरिएको बताए ।
उनले अवैध चोरी पैठारी रोक्न जिल्लाका विभिन्न नाकामा सशस्त्र द्वन्द्वको बेला विस्थापित भएका छोटी भन्सारलाई फेरि स्थापना गर्ने प्रक्रिया पनि शुरु गरिएको बताए ।
छोटी भन्सार नहुँदा पनि लाखौंको राजस्व चुहावट भइरहेकाले सो रोक्न पनि अतिआवश्यक रहेको प्रहरीको भनाई छ ।
नाकामा कडाइ गरिएपछि अवैध रुपमा भित्र्याउन खोजिएका विभिन्न सामान धमाधम प्रहरी नियन्त्रणमा लिइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए । उनले तीन दिनमै पाँच लाखभन्दा बढीको अवैध कपडा बरामद गरिएको बताए ।
बाँकेका सात छोटी भन्सार बन्द
द्वन्द्वकालमा बन्द भएका बाँकेका सात वटा छोटी भन्सार अहिलेसम्म पनि पुनःस्थापना हुन सकेका छैनन् । ती भन्सार सञ्चालनमा नआउँदा छोटी भन्सारबाट उठ्ने भन्सार राजस्वसमेत ठप्प भएको भन्सार कार्यालय, नेपालगञ्ज, बाँकेले जनाएको छ । अहिले जिल्लामा रहेका सुइया, बघौडा, नरैनापुर, भगवानपुर, खडैचा, भघोटना, साईगाउँ र उढरापुर छोटी भन्सार बन्द रहेका छन् ।
यी सबै छोटी भन्सारका केही भवन भत्किएर काम नलाग्ने अवस्थामा रहेका र केहीको भवन नै नभएको बताइएको छ । यी भन्सार कार्यालयबाट विगतमा हुने आर्थिक कारोबारको कुनै अभिलेखीकरण भएकोसमेत पाइँदैन ।
भारतमा पनि ‘काउन्टर पार्ट’ स्थापना गरे छोटी भन्सार सञ्चालन हुन सक्ने नेपालगन्जका भन्सार अधिकृत तथा सूचना अधिकारी डिल्लुप्रसाद शर्मा बताउछन् । उनले नेपालले चाहेर मात्रै सो नाकाहरु सञ्चालन नहुने बताए । यस्ता छोटी भन्सारबाट साना सामग्री धेरै आउने गरेको बताइएको छ ।