आर्थिक संकटलाई कम गर्न मेला आयोजना गरेका हौंः अध्यक्ष मधु खड्का
Saturday, January 21st, 2023, 7:09 pm
Kalpristha
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा.लि. को सह–आयोजनामा यही माघ १० गते देखि २४ गते सम्म नेपालगन्ज उप–महानगरपालिका वडा नं. १८ स्थित सडक डिभिजन कार्यालय कारकादोको परिसरमा ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ आयोजना हुँदैछ । नेपालगन्जमा हुन गईरहेको सो महोत्सवको तयारी तीब्र रुपमा भईरहेको छ । यसैविच महोत्सवसँग सम्बन्धित विविध विषयका बारेमा कालपृष्ठकर्मी लक्ष्मी तिमिल्सेनाले नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मधु खड्कासंग गरेको कालपृष्ठ संवाद । ’
महोत्सव गर्नुको मुख्य उद्देश्य के हो ?
आर्थिक संकटलाई कम गर्ने हाम्रो मुख्य उद्देश्य हो । विगत ३ वर्ष देखि व्यापारी र उद्यमीहरु आर्थिक संकटको मारमा परिरहेका छन् । पहिलो २ वर्ष कोरोना महामारीका कारणले र पछिल्लो १ वर्ष आर्थिक मन्दीका कारण १० औं हजार व्यापारीहरुको उद्योग र व्यापार ठप्प भएको अवस्था छ । बैंकहरुले लगानी गरेको अवस्था छैन । जसका कारण कत्तिले उत्पादन गर्न सकेका छैनन् भने कत्तिले उत्पादित सामाग्रीहरु बजारीकरण गर्न सकेको अवस्था छैन । यी सबै अवस्थाहरुलाई मध्यनजर गर्दै हामीले यो महोत्सवको आयोजना गर्न लागेका हौं । उत्पादित सामाग्रीको बजारीकरण हाम्रो मुख्य ध्येय हो । त्यसक लागि हामीले चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९ को आयोजना गरेका हौं ।
महोत्सवमा स्टलका लागि महिला उद्यमीलाई ग्राह्यता दिने कुरा छ । महिला उद्यमीलाई के सहुलियत छ ?
हामीले कृषि ज्ञानकेन्द्र, भेटेनरी कार्यालय, लुम्विनी प्रदेशको उद्योग मन्त्रालय र बर्दियाको घरेलु महासंघ लगायत थुप्रै संघसंस्थाहरुसंग सहकार्य र समन्वय गरेका छौं । यस्ता संघसंस्थाहरु र कार्यालयहरुमा उद्योग तथा व्यापार प्रबद्र्धनका लागी थोरै भएपनि बजेट हुन्छ । यी सबै संघसंस्थाहरु बाट आएको बजेटले प्रदेश भरिका १२ वटै जिल्लाका महिला उद्यमीहरुलाई हामी निशुल्क स्टल उपलव्ध गराउने छौं । जसका कारण हामी महिला उद्यमीहरुलाई एकखालको सहुलियत प्रदान गर्न सक्ने छौं । हामीकहाँ कम्तिमा पनि एक सयवटा स्टल महिला उद्यमीका हुने सम्भावना छ ।
आर्थिकक संकटको सामना गरिरहेका बेला महोत्सव कत्तिको सफल होला जस्तो लागेको छ ?
अहिले देशभरिका ४० भन्दा बढी स्थानहरुमा मेला महोत्सवहरु लागिरहेका छन् । यस्तो अवस्थामा यस्ता गतिविधिले खास अर्थ राख्छ । हामी विशेष गरि नाफामुलक संस्था होईनौं । हाम्रो खास लक्ष्य चाँही उद्योग र व्यापारको प्रबद्र्धन नै हो । तर, पनि मेला व्यवस्थापनमा खर्च त लाग्छ । हो, यहि कुरालाई मध्यनजर गर्दै हामीले कम्तिमा पनि एक करोड रुपैंया मेला व्यवस्थापनमा लाग्ने आँकलन गरेका छौ । यो संगसंगै हामीले कम्तिमा पनि पौने २ करोडको कारोवार गर्ने हाम्रो योजना छ ।
व्यापारिक प्रयोजन त छँदैछ ? त्यसको अलावा महोत्सवमा अरु के–के देख्न पाईन्छ ?
महोत्सवमा ५० बढि कलाकारहरुको सहभागितामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको मनोरन्जनात्मक प्रस्तुती त छँदैछ । त्यसका अलावा महोत्सबमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता आयोजना हुने छ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल कुस्तिवाज खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने छ । महोत्सवमा २ सय ९० देखि ३०० वटा औद्यौगीक पर्यटन तथा व्यापारिक प्रतिष्ठान, लघु, घरेलु कृषि एवं महिला उद्यमशिलता क्षेत्रका स्टलहरु रहने छन्, जसभित्र थारु होमस्टे, थारु गाउँ पनि रहने छ । पछिल्लो समय व्यापारमा सामाजिक सञ्जाल टिकटकले पनि महत्वपुर्ण भुमिका खेलेको हामी देख्न सक्छौं । त्यसैले हामीले महोत्सव भित्र टिकटक पारखीका लागि टिकटक प्वाइन्ट समेत व्यवस्था गरेका छौं । संगसंगै हामीले टिकटक प्रतियोगिता समेत गर्ने की भन्ने विषयमा पनि छलफल गरिरहेका छौं । यसका साथै खेलमा बाल उद्यान लगायतका विभिन्न खेलहरुको स्टल समेत हुनेछ । लुम्विनी प्रदेशका १२ वटै जिल्लाका उद्यमीहरुको उत्पादित बस्तु तथा सेवा त्यहाँ हुनेछ ।
अहिले तयारी कहाँसम्म पुग्यो ?
तयारी एकदम तिव्र गतिमा छ । स्टेज तयार भैसक्यो । सिंगार्ने काम भैरहको छ । गेटपनि तयार हुँदै छ । हामीले महोत्सवको तयारी तीब्र रुपमा अगाडी बढाएका छौं । हामीले सम्र्पक सचिवालय समेत स्थापना गरिसकेका छौं । यसका साथै महोत्सवका लागि सम्पुर्ण फिल्डका कार्यहरुलाई तीव्रता दिएका छौं । स्टल निर्माण, बाल उद्यान निर्माण र सजावटको कामलाई तिव्र पारेका छौं भने, महोत्सव परिसरमा टिनले बार्ने काम पनि गरिसकेका छौं । समग्रमा हामीले ८० प्रतिशत पुर्वतयारीका कामहरु सकेका छौं । कलाकार सहितको महोत्सवको प्रचा पम्पलेट टाँस्ने, मिडिया मार्फत प्रचारप्रसार गर्ने, अटोहरुमा व्यानर टास्ने र जिङ्गल बजाएर विभिन्न स्थानमा प्रचार प्रसार समेत सुरु भएको छ ।
मेला हेर्न आउने आम नागरिकलाई के भन्न चाहनु हुन्छ ?
सबैभन्दा पहिला त मेला हेर्न आईदिनुस भन्न चाहन्छु । त्यसपछि, मेलालाई अंझै कसरी व्यवस्थित तवरले आगामी दिनमा सन्चालन गर्न सकिन्छ भन्ने विषयमा हामीलाई सल्लाह, सुझाव र प्रतिक्रिया दिन म सबैलाई आग्रह गर्छु । कतिपय साथीहरले मलाई सोध्नुहुन्छ । हाम्रा लागी पासको व्यवस्था छ, की छैन, भन्नुहुन्छ । तर, यसरी नसोचिदिनुस भनेर म कालपृष्ठ दैनिक मार्फत नै भन्न चाहन्छु । हजुरहरुको ५०–६० रुपैंया पनि सहयोग नै हो भनेर टिकट नै काटेर मेला हेर्न आईदिनुस । यो मेला तपाई–हामी सबैका लागि हो ।