तिन धुर जग्गा गायव गर्ने विरुद्ध मुद्दा दायर
Saturday, January 21st, 2023, 7:14 pm
Kalpristha
नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक ठाकुर प्रसाद गुरौले नक्सा परिवर्तन गरी सरकारी निकायको कागजातमा अनाधिकार र गैरकानुनी तरिकाले सच्याउने, हेरफेर गर्ने गरेको प्रमाणित भएपछि विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ माघ
नापी कार्यालय रुपन्देहीका तत्कालिन नापी अधिकृत घनश्याम दुवे, सर्भेक्षक ठाकुर प्रसाद गुरौ समेत गरी चार जना विरुद्ध सरकारी कागजात सच्याउने कार्य गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।
उनीहरु विरुद्द रुपन्देही जिल्लाको साविक सेमलार गाविस वडा नम्बर २(ग) स्थित कित्ता नम्बर ३४८३ को ११ धुर क्षेत्रफल खरिद गरेकोमा जग्गाधनीको कुनै अनुमति र जानकारी बिना नापी कार्यालयका कर्मचारीहरुले पछाडिको मोहडाबाट तिन धुर क्षेत्रफल जग्गा उक्त कित्ताबाट हटाई नक्सा परिवर्तन गरेको आरोप लागेको छ ।
उक्त आरोप लागेपछि अनुसन्धान गर्दा नापी कार्यालय रुपन्देहीका तत्कालिन नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक ठाकुर प्रसाद गुरौले नक्सा परिवर्तन गरी सरकारी निकायको कागजातमा अनाधिकार र गैरकानुनी तरिकाले सच्याउने, हेरफेर गर्ने गरेको प्रमाणित भएपछि विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिमको कैद र जरिवानाको माग सहित मुद्दा दायर गरिएको छ । यसैगरी बुटवल उप–महानगरपालिका वडा नम्बर १३ निवासी शक्ति प्रसाद सापकोटा र पुष्पा सापकोटाले व्यक्तिगत फाइदा लिने उद्देश्यले कित्ता नम्बर ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गर्ने कार्य गरेको भन्दै उनीहरु विरुद्ध पनि कारबाहीका लागि आरोप–पत्र दायर गरिएको छ ।
उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान ऐन २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी गराएका छन् ।