स्व. श्याम थापा स्मृति फुटबलको तयारी पुरा, १२ टिमले प्रतिस्पर्धा गर्ने (भिडियो सहित)
Thursday, February 2nd, 2023, 10:10 pm Kalpristha
कालपृष्ठ समाचारदाता नेपालगन्ज, १९ माघ
दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । चर्चित फुटबलर स्व. श्याम थापा(हुईया)को सम्मान स्वरुप हुन लागेको प्रतियोगिताको दोस्रो संस्करण शनिबार देखि सुरु हुदैछ ।
आयोजक जय किसान स्पोर्टस क्लबले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–१ सैनिकमा हुने प्रतियोगितामा नेपाल र भारतका क्लब गरी १२ टिमको सहभागिता रहनेछ ।
नकआउटका आधारमा हुने प्रतियोगितामा आयोजक जय किसान स्र्पोटस क्लब सैनिक ‘ए’, ‘बी’, शान्ति स्पोर्टस क्लब के गाउँ, खजुरा युनाइटेड एफसी रिमझिम चोक, बागमति क्लब बी गाउँ, न्यु डाँफे स्पोर्टस क्लब डी गाउँ, सन्तकुटी खजुरा, एसएसएफए दाङ, लखनउ सहारा क्लब भारत, युवा संजाल पुल्चोक, मोडेल क्लब सिगाउँ र चिसापानी फुटबल क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।
……….
प्रतियोगिताको विजेता टिमले नगद १ लाख २१ हजार र उपविजेताले ६१ हजार रुपैयाँ सहित ट्रफी पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले ५–५ हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।
बाँके जिल्ला फुटबल संघसँगको समन्वयमा हुन लागेको प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।
बिहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक जय किसान स्पोर्टस क्लबका अध्यक्ष दिपु रानाले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको बताए । उनले भने,‘प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । हामीले विगतमा भन्दा राम्रो व्यवस्थापन गर्दै प्रतियोगिता आयोजना गर्ने तयारी गरेका छौं । यसमा सबैको सहयोगको अपेक्षा गरेका छौं ।’
खजुरा गाउँपालिकाले सहयोग गरेको प्रतियोगितामा भारतीय टिमको पनि सहभागिता रहने आयोजक जय किसान स्पोर्टस क्लबका महासचिव दिपक रानाले बताए ।
सैनिकमा हुन लागेको प्रतियोगिताले यस क्षेत्रका युवाहरुलाई खेलकुदमा अभिरुची जगाउँदैं सकारात्मक बाटोमा लाग्न पनि प्रेरणा प्रदान गर्ने गरेको महासचिव रानाले पत्रकार सम्मेलनमा बताए । उनले भने,‘हामी निकै खुसी छौं । प्रतियोगिताले यस क्षेत्रका जनतामाझ राम्रो प्रभाव पारेको छ । फुटबलले खेलको मात्र होइन । यस क्षेत्रका सबै उमेर समुह मानिसलाई एउटा सन्देश दिईरहेको छ । हामी फुटबको माध्यमबाट युवाहरुलाई स्वस्थ र सक्षम बनाउने प्रयास गरिरहेका छौं ।’
खजुरा गाउँपालिका वडा नम्बर १ अध्यक्ष मनवीर क्षेत्रीले आफनो वडामा हुन लागेको प्रतियोगितालाई सफल बनाउन सम्पुर्ण वडावासी एकजुट भएर लाग्नु पर्ने बताए । सैनिकमा उच्च स्तरको प्रतियोगिता हुनु वडावासीका लागि गर्व गर्ने विषय भएकोले सबैले सक्दो सहयोग गर्नु पर्ने बताए । उनले भने,‘हाम्रो वडामा यस्तो स्तरीय प्रतियोगिता भैरहेको छ । यसमा क्लबका भाईहरुले निकै मिहिनेत गर्नु भएको छ । प्रतियोगिता आयोजना गर्नमा वडा र गाउँपालिकाले सक्दो आर्थिक सहयोग गर्नेछ ।’
बाँकेको फुटबलमा हस्तीको रुपमा परिचित स्वः श्याम थापाको सम्झनामा गर्न लागिएको प्रतियोगितामा मुख्य प्रायोजन गर्न पाउनु खुसीको कुरा भएको बाँके बर्दिया मैत्री समाज जापानका प्रतिनिधि सागर पाण्डेले बताए । प्रतियोगिताले स्थानीय स्तरबाट स्तरीय खेलाडी उत्पादनको पनि काम गर्ने उनले विश्वास व्यक्त गरे ।
स्थानीय स्तरमा युवाहरु एकजुट भएर प्रतियोगिता गर्दा समाज राम्रो सन्देश जाने समाजसेवी लिल बहादुर मल्लले बताए ।
प्रतियोगितालाई उपेन्द्र क्षेत्री एण्ड एशोसिएट चार्टड एकाउन्टेन्ट उपेन्द्र बुढा क्षेत्री, अंकित थापा, भिजन आई हस्पिटल, थोपा प्रयोगशाला, ओम पञ्चपुरी इन्डिस्ट्रीज, जय अम्बे स्टील्स, होलिल्यान्ड स्कुल, वाईवाई चाउँचाउँ, नेपालगन्ज क्याम्पस, ग्रेस पब्लिक स्कुल, शुभकामना मेडिकल हल, वर्डबाईजर वियर, लिला इन्टरनेशनल प्रालि, ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रालि लगायतले सह–प्रायोजन गरेका छन् ।
बिहिबार भएको पत्रकार सम्मेलनमा क्लबका वरिष्ट सल्लाहाकार रमेश थापा, क्लबका तिल बहादुर थापा, खेम बहादुर राना, श्याम राना, कृष्ण थापा, नविन थापा लगायतको सहभागिता रहेको थियो ।