‘स्लो बाइक प्रतियोगिता २०७९’ को उपाधी क्षेत्रीलाई
Saturday, February 4th, 2023, 3:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ माघ
३७ जना प्रतियोगिहरुलाई पछि पार्दै तेस्रो स्लो बाइक प्रतियोगिता २०७९ को उपाधी नेपालगन्जका सुरेन्द्र बुढा क्षेत्रीले हासिल गरेका छन् । निर्धारित १०० मिटरको दुरी ५ मिनेट १३ सेकेन्डमा पुरा गरेका उनले प्रतियोगिताको बिजेता भएसँगै नगद रु. १० हजार र प्रमाण पत्र हासिल गरेका छन् ।
बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि बास नेपालको आयोजनामा भएको प्रतियोगितामा दोश्रो, तेस्रो र सान्त्वना स्थान क्रमशः अंकित जैसवाल ५ मिनेट ७ सेकेण्ड, प्रदिप यादब ४ मिनेट ५३ सेकेण्ड र शिव तमौलीले ४ मिनेट ४८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै उक्त स्थान हासिल गरेका हुन । दोश्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्न सफल प्रतियोगिले क्रमशः नगद रु. ७ हजार ४ हजार र २ हजार र प्रमाण पत्र प्राप्त गरेका छन् ।
नेपालगन्जको न्यूरोडमा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका प्रमुख अतिथि विपिन आचार्यले सवारी दूर्घटना न्यूनीकरण गर्न हरेक ब्यक्तिको भूमिका अपरिहार्य रहेको बताए । उनले सवारी सुरक्षा र ट्राफिक नियमको पालना गरेमा दूर्घटना न्युनिकरण हुने भन्दै सबैले टाफिक नियमको पालना गरि सवारी साधन चलाउन अनुरोध गरे । स्लो बाईक प्रतियोगिताले आम नागरिकहरुमा सचेतना फैलाउने भन्दै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरे ।
सो अवसरमा बोल्दै ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख ओम प्रसाद पौडेलले आम सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न अपिल गरे । बासले गरेको सचेतना मुलक कार्यक्रमले तिब्र गतिमा सवारी चलाउने कार्यलाई निरुत्साहित गर्ने उनको भनाई थियो ।
बासका कार्यवाहक अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा भएको प्रतियोगिताको सुभारम्भ प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पौडेलले सिटि फुकेर गरेका थिए । उद्घाटन पूर्ब कार्यक्रमका प्रमुख अतिथि र अतिथिले स्लो गतिमा वाईक चलाएका थिए ।

….
बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको प्रतियोगिताले पछिल्लो समय युवा पुस्ताहरु तिब्र गतिमा सवारी चलाउदा दैनिक जसो दूर्घटनाको सिकार भईरहेको अवस्थामा आम नागरिकहरुलाई सुस्त गतिमा सवारी चलाउदा दूर्घटना जस्तो भयावह अवस्था बाट जोगिन सकिन्छ भन्ने कुराको सन्देस प्रवाह गरेको आयोजकले जनाएको छ ।
बासको आयोजनामा भएको कार्यक्रममा एमएस टे«ड इन्टरनेशनल हिरो शोरुम नेपालगन्ज, पोखरा फाईनान्स लिमिटेड नेपालगन्ज, ग्लोबल आईएमई बैंक नेपालगन्ज, बजाज शोरुम कारकादौं नेपालगन्ज, जेनिस मेडिसेल्स नेपालगन्ज, होण्डा शोरुम नेपालगन्ज, न्यू होटल इन्द्रेणी न्यूरोड नेपालगन्ज र यमहा शोरुम नेपालगन्जको सहकार्य रहेको थियो । प्रतियोगिताको ब्यवस्थापन जिल्ला ट्राफिक प्रहरी कार्यालयले गरेका थियो ।