भेरी रकर्स मेयर कप क्रिकेटको फाईनलमा प्रवेश
Tuesday, February 21st, 2023, 7:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ फागुन
भेरी रकर्स नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत पुरुष तर्फ फाइनलमा प्रवेश गरेको छ । नेपालगन्जमा मंगलबार भएको खेलमा भेरी रकर्सले कोहलपुर स्पोर्टस एकेडेमीलाई ५ विकेटले हराउँदै प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । अब फाइनलमा भेरी रकर्सले शनिबार न्यु दर्पण युवा क्लब र ज्योति स्पोर्टस एकेडेमी (ए) बिचको विजेतासँग खेल्नेछ । शुक्रबार प्रतियोगिताको दोस्रो सेमिफाइनल न्यु दर्पण युवा क्लब र ज्योति स्पोर्टस एकेडेमीले प्रतिस्पर्धा गर्दैछन् । यसैगरी शनिबार नै मंगलप्रसाद उच्च माविको मैदानमा नेपालगन्ज उपमेयर कप महिला क्रिकेटको फाईनलमा नेपालगन्ज मोडेल एकेडेमी र होलिल्यान्ड स्कुलबिच प्रतिस्पर्धा हुनेछ ।
मंगलबार मंगलप्रसाद उच्च मावि खेल मैदानमा टस जितेर ब्याटिङ गरेको कोहलपुर स्पोर्टस एकेडेमीले १७.५ ओभरमा १० विकेटको नोक्सानीमा १ सय ४ रन बनायो । कोहलपुरका दिपेन्द्र रावतले ३७ रन, लुकास यादवले अविजित १३ रन, ओपनर बिनायक गिरीले १२ रन र अस्मित शाहीले ११ रन बनाए । टोलीका महत्वपुर्ण खेलाडीका रुपमा मानिएका अविनाश बोहोरा पहिलो बलमै साहिद अन्सारीको बलमा बोल्ड हुन पुगेका थिए । भेरी रकर्सका लागि सुरज दासले ४ विकेट, साहिद अन्सारीले ३ विकेट लिए ।
जवाफमा भेरी रकर्सले १७.५ ओभरमा ५ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । रकर्सका लागि सदाब अन्सारीले सर्वाधिक ४३ रन, ओपनर साहिद अन्सारीले २६ रन र सलमान शेखले अविजित १३ रनको योगदान गरे ।
कोहलपुर स्पोर्टस एकेडेमीका धन बहादुर थापा र दिपेन्द्र रावतले २–२ विकेट लिए । खेलमा रकर्सको तर्फबाट अलराउन्डर प्रदर्शन गर्ने साहिद अन्सारी प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । अन्सारीलाई जसपाका जसपाका केन्द्रिय सदस्य सबी तबासुम अन्सारी, लुम्बिनी
प्रदेश पार्टी अध्यक्ष अशोक कुमार यादव र नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० अध्यक्ष कौशल कुमार धोवीले पुरस्कृत गरे । यसैगरी मंगलबार भएको अर्को खेलमा न्यु दर्पणले मंगलप्रसाद उच्च माविको टिमलाई ४० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको न्यु दर्पणले १९.४ ओभरमा १० विकेटको नोक्सानीमा १ सय ८५ रन बनाएको थियो । टोलीका लागि विशाल पौडेलले ४२ रन, प्रेम सुनारले २९ रन, नितिन रानाले १९ रन र गजेन्द्र वलीले १७ रन बनाए ।
मंगलप्रसादका वलर करण बानियाले सर्वाधिक ४ विकेट, सुबास धोवी र दानिस शेखले २–२ विकेट लिए । १ सय ८६ रनको लक्ष्य लिएर मैदानमा आएको मंगलप्रसादले २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ४५ रनमात्र बनाउन सक्यो । टोलीका लागि पंकज बर्माले २९ रन, करण बानियाले अविजित २३ रन, शिव सोनकरले २२ रन र ओपनर सागर केवटले १७ रन बनाएका थिए । न्यु दर्पणका रमेश भण्डारीले ३ विकेट र प्लेयर अफ द म्याच नितिन रानाले २ विकेट लिन सफल भए ।

………..
बाँके जिल्लाक्रिकेट संघले आयोजना र नेपालगन्जउप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँप्राप्तगर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामापुरुष र महिलातर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफम्याचबन्ने खेलाडीले नगद १ हजार पाउनेछन् । प्रतियोगितामाविधागत रुपमाउत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघले बताएको छ ।