आइपिओ निष्कासन गर्दै मोदी इनर्जी
Tuesday, February 28th, 2023, 5:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ फागुन
मोदी ईनर्जी लिमिटेडले फागुन २५ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात् २९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २९ लाख कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्र पर्वत जिल्ला अन्तर्गत साविक दुर्लुङ्ग गा.वि.स. हाल कुश्मा नगरपालिका ३, साविक बाजुङ्ग गा.वि.स. हाल मोदी गाउँपालिका ५, साविक देवपुर गा.वि.स. हाल मोदी नगरपालिका २, साविक तिलहर गा.वि.स. हाल मोदी गाउँपालिका ६ र साविक चुवा गा.वि.स. हाल कुश्मा नगरपालिका ८ का स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो ।
यसका साथै सर्वसाधारणमा निष्कासन हुने सेयरको १० प्रतिशतले हुन आउने ४ करोड ३५ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो ।
यस्तै, सर्वसाधारणलाई निष्कासन गर्ने सेयरको ५ प्रतिशत अर्थात् २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ८७ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याएको छ ।
उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले अधिकतममा १ हजार कित्ताका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।
उक्त आइपिओमा चैत ९ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिमा पूणर् आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले भने चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
स्थानीय बासिन्दाले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एशिया बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूणर् सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट सी- आस्बा सदस्यता प्राप्त गरेका सम्पूणर् बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ’आइआरएन डबल बी प्लस इस्युअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।