रंगमा रंगियो हिमाली जिल्ला डोल्पा
Tuesday, March 7th, 2023, 5:51 pm
Kalpristha
विष्णुप्रसाद देबकोटा
डोल्पा, फागुन २३
सडक सन्जालमा जोडिएसंगै हिमाली जिल्ला डोल्पामा ब्यापार ब्यवसायको लागि तराईमुलका बासिन्दाको उपस्थिती बाग्लीएसंगै होलीको रौनकले डोल्पा पनि रंगसंगै रंगिएको छ । रंग, प्रेम, संगित, हास्यरस र मिष्ठान्नको संगमको रुपमा मनाइने फागु पूर्णिमा अर्थात होली पर्व पछिल्लो वर्ष हिमाली जिल्ला डोल्पामा पनि मनाइने गरिएको छ ।
सबैमा भ्रातृत्व र एकताको सन्देश प्रवाहा गर्ने भएकाले भौगोलिक सिमा नाघेर तराईमा मनाइदै आएको रंगहरुको पर्व होली पछिल्लो समय हिमाली जिल्ला डोल्पामा पनि धुमधामका साथ मनाइने गरेको पाइन्छ । हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनै र त्रिपुराकोट बजारमा एका विहानै युवायुवतीहरु एकअर्कालाई खुशी पार्न र आत्मीयता साट्न पिचकारीले रंग तथा पानी छयापेर रमाइरहेको देखिन्थ्यो ।
होलीकै दिनमा साँझमा एकअर्कालाई टीका लगाएर अभिवादन सहित मिठाइ खुवाउने चलन बढ्दै गएको छ डोल्पामा । अन्य पर्वहरु झै होलीमा पनि ईश्वरप्रति कृतज्ञता,परिवारका सदस्यहरु भ्ोला भएर खानपान,साथीहरुको जमघट ठट्टा र मनोरन्जन गरिने भएकाले पनि बिशेष पर्वको रुपमा डोल्पामा रंगको पर्व होली मनाइने गरेकोे त्रिपुरासुन्दरी नगरपालिका– १ का ८७ वर्षीय रविप्रसाद न्यौपानेले बताए । शिशिर क्रृतुको समाप्ती र बसन्त क्रृतुको आरम्भमा मनाइने होली पुर्णरुपमा मनोरन्जनात्मक पर्व भएको अर्का निर्मलप्रसाद उपाध्यायले बताए ।