कोहलपुरको बागेश्वरी क्याम्पस अनेरास्ववियु प्यानल विजयी
Monday, March 20th, 2023, 5:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ फागुन
बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको स्ववियु सभापतिमा देबेन्द्र बुढा निर्वाचित भएका छन् । नेकपा एमाले निकट अनेरास्ववियुको तर्फबाट बुढासहित उनको प्यानल नै निर्वाचित भएको हो । नेपाल बिद्यार्थी संघकी टिकाकुमारी शाहीलाई पराजित गर्दै बुढा निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार बुढाले ४ सय ५४ र टिकाले २ सय ४० मत प्राप्त गरे । यस्तै सचिवमा अनेरास्ववियुकै महेन्द्र मल्ल ३ सय १४ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी युवराज बिष्टले २ सय ९९ मत प्राप्त गरे । कोषाध्यक्षमा अनेरास्ववियुका सुरेश चदारा ३ सय १२ मत प्राप्त गरेर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी नवराज बिकले २ सय ८५ मत ल्याए ।
सदस्यहरुमा पनि अनेरास्ववियुकै अभिसा बोहोराले ३ सय १७, तिर्थकुमारी नकालले ३ सय ४३, तुलाराम भट्टराईले ३२७, सिर्जना मल्लले ३ सय ३७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
स्ववियुमा नयाँ नेतृत्व चयनका लागि आइतबार मतदान गराइएको थियो । मतदान पश्चात राती सम्म चलेको मतगणना अनुसार अन्तिम परिणाम सार्वजनिक भएको हो ।
मध्यपश्चिम विश्वबिद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको उक्त क्याम्पसको निर्वाचन यसअघि चैत ३ गतेका लागि तोकिएकोमा स्थगित हुन पुगेको थियो । विश्वबिद्यालयले पुनः सूचना निकालेर आइतबार मतदान गराएको हो ।

..