आर्थिक विपन्न परिवारलाई बाख्रा वितरण
Friday, March 24th, 2023, 6:54 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा,चैत १०
डोल्पाको एउटा कृषक समुहले व्यवसायिक बाख्रपालनको लागि विपन्न परिवारलाई उन्नतजातका बाख्रा वितरण गरेको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नंम्वर ७ छल गाउँका आर्थिक विपन्न परिवारलाई नाउलामेला कृषि तथा भेडा बाख्रा पालन बिक्षारोपण कृषक समुहले उन्नतजातका बाख्रा वितरण गरेको हो ।
भूमि ब्यवस्था कृषि सहकारी मन्त्रालय पशु अस्पताल तथा पशुसेवा कार्यालय डोल्पाको आर्थिक सहयोग १५ लाख र नाउलामेला कृषि तथा भेडा बाख्रा पालन बिक्षरोपण कृषक समुहको पाँच लाख गरेर बीसलाखको लागतमा नब्बे ओटा बाख्रा खरिद गरेर समुहका सदस्यहरुलाई वितरण गरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालय डोल्पाले जनाएको छ ।
ब्यवसायिक रुपमा भेडाबाख्राको पालन गरेर समुह सदस्यहरुको आर्थिक जीवनस्तर माथि उठाउने उद्धेश्यले आफुहरुलाई उन्नतजातको बाख्रा दिएको समुह सदस्य धना रोकायाले बताए । समुहका सदस्य सचिव कमल रोकायाले ब्यवसायिक रुपमा बाख्रापलन गरेर सदस्यहरुको आर्थिक जीवनस्तर माथि उठाउनुका साथै बाख्रास्रोत केन्द्रको रुपमा समेत विकास गर्ने गरी ब्यवसायिक बाख्रापालन शुरु गरिएको बताए ।
पशु अस्ताल तथा पशुसेवा कार्यालयका सुचना अधिकारी तथा निमित्त कार्यालय प्रमुख नवराज न्यौपानेले बाख्राब्लक विकास कार्यक्रम अन्र्तगत छल गाउँमा रहेको नाउलामेला भेडाबाख्रा पालन तथा कृषि विक्षारोण कृषक समुहलाई छनौट गरेर ब्यवसायिक बाख्रालनको लागि सहयोग गरेको बताए । यसैगरी उपल्लो डोल्पाका शे फोक्सुण्डा र छार्काताङसोङ गाउँपालिका वाहेक अन्य ६ ओटा स्थानीय तहमा भेडाबाख्रा ब्लक विकास कार्यक्रम संचालन भइरहेको जानकारी दिए ।
विगतमा कृषक समुह छनौट तथा बाख्रावितरण गर्दा विभेद गरिएको गुनासो बढेपछि कार्यालयले संचारकर्मीको रोहवरमा समुहले खरिद गरी ल्याएका भेडाबाख्रा गोलाप्रथावाट समुह सदस्यहरुलाई वितरण गरेको छ ।
त्यस्तै गरी भेरीकरिडोर मत्स्यपालन कार्यक्रम अन्र्तगत त्रिपुरासुन्दरी नगरपालिका ६ पालङमा समेत बाख्रा वितरण गरिएको छ ।
कार्यालयले बाख्रा वितरण संगसंगै समुह सदस्यहरुलाई भडाबाख्रामा लाग्ने रोग रोकथामको उपाय उपचार पद्दतीका बारेमा समेत तालिम संचालन गरेको थियो । यवसायिक भेडाबाख्रापालनको माध्यमबाट जिल्लामा सधै हुने मासु अभावलाई न्युनीकरण गर्ने कार्यमा यो अभियानले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।