नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
Friday, March 24th, 2023, 6:59 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० चैत
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार राष्ट्रिय जनगणना २०७८–७९ को नतिजा सार्वजनिक गर्दै २०७९ मंसिरसम्म देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको जानकारी दिएको हो ।
तथ्यांकअनुसार महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ र पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ पुगेको छ । महिलाको भन्दा पुरुषको संख्या करिब ७ लाख कम रहेको सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ ।
सार्वजनिक नतिजाअनुसार प्रारम्भिक तथ्यांकमाभन्दा करिब २८ हजार जना जनसंख्या घटेको देखिएको छ ।
१४ महिनाअघि तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जना थियो । विस्तृत तथ्यांकमा नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ कायम भएको छ । जुन प्रारम्भिक जनसंख्या भन्दा २७ हजार ९०२ जनाले कमी हो ।
यसपटक वागमती र मधेस प्रदेशमा करिव २१ प्रतिशत जनसंख्याको बसोवास छ, जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम छ । त्यस्तै भक्तपुरमा सबैभन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ ।
२१ लाख ९० हजार ५९२ जना नेपाली विदेशमा
१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेको पाइएको हो ।
यो गत २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेको पाइएको थियो ।
जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ ।