जानकीमा सीप विकास तालिम सम्पन्न
Tuesday, April 4th, 2023, 9:38 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ चैत
जानकी गाउँपालिकामा सञ्चालित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत एक महिने सीप विकास ढाकाको झोला बनाउने तालिम सम्पन्न भएको छ । नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालको आर्थिक सहयोग र जानकी गाउँपालिकाको लघु उद्यम शाखाको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको थियो । जानकी गाउँपालिकाको वडा नम्वर ५ गुरुवागाउँमा सञ्चालित तालिम समापन गरिएको हो ।
महिलालाई सीपमार्फत आर्थिक स्वावलम्बी बनाउने उद्देश्यले सञ्चालित उक्त तालिममा १३ जना महिलाहरुको सहभागिता रहेको थियो । एक महिने सीप विकास ढाकाको झोला बनाउने तालिमको प्रशिक्षक शान्ति राना क्षेत्री थिइन् । समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले सिलाइकटाई तालिमले स्वरोजगार बनाउने बताए ।
एउटा मेशिनबाट आफ्नो घरको काम पनि गर्न सकिने र सिकेको सीपबाट झोला बनाई विक्री समेत गरी पैसा कमाउन पनि सकिने भएकाले सिकेको सीपलाई व्यवहारमा उतार्न उनले आग्रह गरे । वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादवले एक महिनासम्म सिकेको तालिमबाट प्राप्त उपलब्धिलाई व्यवहारमा लागु गरेर उत्कृष्ट काम गर्नेलाई गाउँपालिकाबाट पुरस्कृत गरिने बताए ।
समापन कार्यक्रममा तालिममा सहभागी महिला उद्यमीहरुलाई सामूहिकरुपमा ६ वटा सिलाई अम्रेला मेशिन, ६ वटा स्टुल, १३ वटा कैंची, १३ वटा स्केल, १३ वटा फित्ता र प्रमाणपत्र समेत वितरण गरिएको लघु उद्यम शाखाकी प्रमुख सावित्री रेग्मीले बताइन् ।