‘अघि बढ्ने मार्ग प्रशस्त गरियोस’
Wednesday, April 5th, 2023, 4:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ चैत
लुम्बिनी प्रदेश सभाका सांसद बादशाह कुर्मीले सरकार गठन भएको ढाई महिना भईसक्दापनि अहिलेसम्म कुनैपनि विकासका कामहरुमा आफुहरुसँग सहकार्य नभएको बताएका छन् । लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दै नेता कुर्मिले सरकारलाई सर्मथन गरेका दलहरुले सर्मथन फिर्ता लिईसक्दा पनि सत्ताशिन दलले अघाडि बढ्नकालागि कुनैपनि खालको मार्ग प्रशस्त नगरेको आरोप लगाए । अहिलेसम्म बजेटको २० देखि २४ प्रतिशत मात्रै खर्च भएको कुरा उल्लेख गर्दै कुर्मिले बजेट खर्च गर्नका लागि सरकारले मार्ग खोली दिनुपर्ने बताए ।
‘निर्वाचन भइसकेपछि म प्रदेश सभामा पहिलो पटक बोल्न उपस्थित भएको छु, म आफ्नो क्षेत्रका सम्पूर्ण जनतालाई मलाई यहाँसम्म पुर्याउनु भएकोमा धन्यवाद दिन्छु,’ कुर्मीले भने ‘सरकार गठन भएको झन्डै ढाई महिना भईसक्यो, अहिलेसम्म कुनै विकास निर्माणको काम भएको छैन, हामीले के के गर्नुपर्ने हो, कसरी जानुपर्ने हो, हामीले कुनै त्यस्तो कार्य गर्न पाएका छैनौँ ।’ प्रदेश सभा सांसद कुर्मीले कृषि प्रधान देश भएपनि अहिलेसम्म किसानले सिचाइँ, मल र बीउ पाउन नसकेको भन्दै चिन्ता समेत ब्यक्त गरेका छन् । ‘सिक्टा सिचाइँ आयोजना २०६३ सालदेखी सुरु भएको अवस्था हो, सात वर्षमा सम्पन्न हुने यसको लक्ष्य थियो, झण्डै १६ वर्ष भइसकेको अवस्था छ, सिक्टा सिचाइँको अहिलेसम्म कुनै उपभोग र सिचाइँ गर्न पाएका छैनौं ।’– उनले भने ।
पञ्चायत कालमा निर्माण भएको डुडुवा नहर पनि जीर्ण अवस्थामा पुगेको प्रदेश सांसद कुर्मीले सुनाए । ‘डुडुवा नहरलाई मर्मत मात्रै गरिदिएपछि सिचाई हुन्थ्यो, नहर छिटो भन्दा छिटो सुचारु होस् र मर्मत कार्यमा ध्यान दिइयोस ।’
सांसद कुर्मीले किसानका लागि समयमै मलखाद र बीउ ब्यवस्थापन गर्न सरकारसँग माग गरे । ‘हामी समयमा मलखाद र बीउ पाउँदैनौं, मलको ब्यवस्थापन समयमै होस्, खेतीको समय आईसक्यो, जेठ महिनाभित्र मलको ब्यवस्था गर्न प्रदेश सरकारसँग माग गर्दछु ।’–उनले भने ।
उनले सात बर्षमा सक्ने गरि योजनता बनाएर काम सुरु गरेको सिक्टा नहरको काम १६ बर्ष भईसक्दापनि सम्पन्न हुन नसकेको कुरा उल्लेख गरे । फरक प्रसङ्गमा उनले सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन् ।