उप-महानगरपालिकालाई विपद् व्यवस्थापन सामाग्री सहयोग
Thursday, April 6th, 2023, 8:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ चैत
शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) ले नेपालगन्ज उप-महानगरपालिकालाई विपद व्यवस्थापनजन्य सामग्री हस्तान्तरण गरेको छ । नेपालगन्ज उप-महानगरपालिकामा विपद व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको सुपरले विपद व्यवस्थापन, कार्यालय व्यवस्थापन, आगलागी नियन्त्रणका लागि अत्यावश्यक सामग्री हस्तान्तरण गरेको हो ।
बिहीबार एक कार्यक्रमका बीच युनिसेफ नेपालकी आपतकालीन विशेषज्ञ सुनिता कायस्थले नेपालगन्ज उप-महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई विपद व्यवस्थापनजन्य सामग्री हस्तान्तरण गरेको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । २६ लाख ४८ हजार मूल्य बराबरका ड्रोन, खोज तथा उद्धार सामग्री, सूचना प्रविधि र कार्यालय व्यवस्थापन सम्बन्धि सामग्री, अग्नी नियन्त्रण सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उप-महानगरपालिकाका उप-प्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, विपद समिति संयोजक समिरप्रताप सिंह लगायत उपस्थित थिए ।
सामग्री हस्तान्तरण अघि युनिसेफका प्रतिनिधिहरुसंगको छलफलमा नगर प्रमुख विष्टले सुपरसँगको सहकार्यले विपद व्यवस्थापनका क्षेत्रमा अझ गहिरो ढंगले कामगर्न सहयोग पुगेको भन्दै नेपालगन्ज उप-महानगरपालिकले विपदलाई प्राथमिकतामा राखेको बताए । विष्टले सुपरसँगको सहकार्यपछि विपद जोखिम न्यूनीकरणका क्षेत्रमा एक कदम अघि बढेको महसूस आफूले गरेको उल्लेख गरे । युनिसेफकी आपतकालीन विशेषज्ञ कायस्थले नेपालगन्ज उप-महानगरपालिकासँग सहकार्य गरेर विपद व्यवस्थापनकालागि प्राविधिक सहयोग गर्न पाउँदा गर्व महसूस भएको बताइन् ।
उनले विपद व्यवस्थापनका लागि सुपरसँगको सहकार्यमा नेपालगन्जले गरिरहेका गतिविधि र सचेतनाबारे नागरिकमा राम्रो बुझाई रहेको आफूले पाएको समेत उल्लेख गरिन् । कायस्थले प्रतिकार्यमामात्रै बजेट केन्द्रितगर्ने परम्परागत अभ्यासलाई सच्याउँदै न्यूनीकरणका लागिगरिने पूर्व तयारीमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिइन् । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सुपर प्रोजेक्ट सञ्चालनमा छ । नेपालगन्जको वडा नम्बर ३ र ७ मा सुपर प्रोजेक्ट सञ्चालन भइरहेको छ ।