सेवा प्रभावलाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीले गरे प्रतिवद्धता
Friday, April 7th, 2023, 9:34 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २४ चैत
खजुरा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबिच सेवा प्रभावलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । शुक्रबार खजुरामा भएको अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीबिच सेवा प्रभावलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको थियो । सेवा प्रवाहलाई प्रभावकारी बनाउने बारेमा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले जनप्रतिनिधि र कर्मचारीबिच सकारात्मक सम्बन्धको विकास गर्दै जनताका अपेक्षा पुरा गर्नु पर्ने बताए ।
शुक्रबार भएको अन्तरक्रियाले देशभरका स्थानीय तहमा सकारात्मक सन्देश दिएको बताउँदै अध्यक्ष विकले कानुनले निर्देशन गरेका कुरालाई पालना गर्दै काम गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘देशको विकासमा कर्मचारीको भुमिका महत्वपुर्ण हुन्छ । तर स्थानीय तहमा काम गर्ने दौरानमा केही कर्मचारी र जनप्रतिनिधिबिच केहि बुझाई फरक भिन्नता देखिन्छ । जनप्रतिनिधि भनेका केहि समयका लागि हुन् । कर्मचारी नै देशको स्थायी सरकार र सत्ता हुन् । यो राष्ट्र बनाउनमा सबैभन्दा धेरै कर्मचारीको भुमिका महत्वपुर्ण हुन्छ भनेर मैले बुझेको छु ।’
जनप्रतिनिधिलाई विधि सम्बद काम गराउने कुरामा पनि कर्मचारीको मुख्य भुमिका हुने अध्यक्ष विकले बताए । उनले भने,‘जनप्रतिनिधिलाई जनता अपेक्षा र समस्या समाधान गर्नु पर्ने दबाब हुन्छ । त्यो दबाब कर्मचारीमाथि थोपार्ने होइन । त्यसलाई विधि सम्बद रुपमा कसरी काम गर्न सकिन्छ भनेर सोच्ने हो । कर्मचारीले पनि जनप्रतिनिधिलाई कानुनी रुपमा काम गर्नको लागि सजिलो बनाईदिनु पर्छ ।’
गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले निर्वाचित जनप्रतिनिधिहरुलाई काम गर्ने दौरानमा सबै कानुन ज्ञान नहुने हुनाले यसमा कर्मचारीले सहजीकरण गर्नु पर्ने बताईन् । उनले भनिन,‘ काम गर्ने दौरानमा कर्मचारी र जनप्रतिनिधि बिच केहि मतभिन्नता देखिन्छ । त्यो स्वभाविक हो । हामी सबैको एउटै उद्देश्य भनेको विकास हो । जनतालाई सेवा दिने हो । हामीबिच भएका केहि नराम्रा कुराहरुलाई आजैको दिनबाट बिर्सेर नयाँ ढंगले काम गर्नु पर्छ ।’
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले जनप्रतिनिधि र कर्मचारीले आफनो जिम्मेवारीलाई इमानदारिताका साथ निर्वाह गरे जनतालाई समस्याहरु समाधान गर्न सहज हुने बताए ।
उनले भने, ‘जनप्रतिनिधि र कर्मचारीबिच आपसी सम्बन्ध राम्रो हुनु पर्छ । जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधिलाई कर्मचारीले सम्मान गर्नुपर्छ । जनप्रतिनिधिले पनि कर्मचारीलाई सुशासन कायम गर्दै सहज रुपमा काम गर्ने वातावरण दिनु पर्छ ।’ कर्मचारीले अनुशासित भएर काम गर्दा समाजमा सकारात्मक सन्देश जाने भएकोले पालिकाका कर्मचारीलाई त्यसमा ध्यान दिन सुवेदीले निर्देशन दिए ।
अन्तरक्रिया कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्बर २ अध्यक्ष धनीराम ओली, वडा नम्बर ५ अध्यक्ष गरिबे शेखले आफु निर्वाचित भएर आएपछि काम गर्दा भोग्नु परेको समस्याहरुका बारेमा बताएका थिए । अन्तरक्रियाका दौरान खजुरा गाउँपालिकामा कार्यरत कर्मचारीले ब्यानरमा हस्ताक्षर गर्दै सामुहिक प्रतिवद्धता व्यक्त गरेका थिए ।

…………..
खजुरा गाउँपालिकाका कर्मचारीले आर्थिक अनुशासन र सदाचारितालाई पालना गर्ने, सेवाग्राही प्रति उचित र सम्मान व्यवहार गर्ने, स्थानीय सरकारको आलोचना नगर्ने, स्थानीय सरकारको सभा र कार्यपालिकाबाट भएका निर्णय कार्यान्वयनलाई पुर्णरुपमा कार्यान्वयन गर्ने, कागत र प्रक्रिया पुगेको काममा कुनै बहानामा जनताको काममा ढिलाई नगर्ने लगायतका विभिन्न १५ बुद्धामा हस्ताक्षर गरेका छन् । यसैगरी गाउँपालिकाको तर्फबाट अध्यक्ष डम्बर विक तुफानले पनि जनप्रतिनिधिले आफनो क्षेत्र, अधिकारमा रहेर काम गर्ने र विधि सम्बद्ध काम गर्ने कुरामा प्रतिवद्धता व्यक्त गरेका थिए ।

………………

………….