साकार कृषि सहकारी र मुक्तिनाथबिच सम्झौता
Monday, April 10th, 2023, 10:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ चैत
साकार कृषि सहकारी संस्था लिमिटेड र मुक्तिनाथ विकास बैंक बिच आर्थिक कर्जासँगैं कृषि सामाग्री बजारिकरण, कृषि उपजको बजारिकरण र कृषि प्रविधिलाई किसानसम्म पु¥याउनको लागि सहुलियत कर्जा उपलब्ध गराउने बारेमा सम्झौता भएको छ ।
बाँकेमा कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने सहकारीको छबी बनाएको सहकारी हो साकार कृषि सहकारी संस्था लिमिटेड । विशेष गरी किसानलाई आधुनिक प्रविधि सहुलियतदरमा उपलब्ध गराउँदै कृषि उत्पादनलाई बृद्धि गर्दै बजारीकरणमा साकारले काम गर्दै आएको छ ।
साकार कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मनोज कुमार मौर्य र मुक्तिनाथ विकासका क्षेत्रीय प्रबन्धक विजय केसीले सम्झौतामा हस्ताक्षर गरे । सहकारी संस्थाहरु कमैमात्र बैंकसँग जोडिने गरेका छन् । बाँकेमा नयाँ अभ्यासका रुपमा लिईएको यस सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकले एक पटकमा साकार कृषि सहकारीलाई कम्तिमा ५ करोड सम्मको सहुलियत दरमा ऋण उपलब्ध गराउने छ ।
यसका साथै किसानलाई कृषि प्रविधि खरिद र कृषि उपजको बजारीकरणमा समेत बैंकले सहयोग गर्ने साकार कृषि सहकारी संस्था लिमिटेडका मुख्य व्यवस्थापक जमान सिंह वलीले बताए । उनले भने,‘यो सम्झौताले सहकारीलाई आफनो लक्ष्य अनुरुप सेवा दिन सहयोग गर्नेछ । हामी सहकारीलाई आम किसानसँग जोडिरहेका छौं । सहकारीले किसानलाई आधुनिक प्रविधिको प्रयोग गर्दै व्यवसायिक कृषिसँग जोडिरहेको छ। यो अभियानमा बैंकसँगको सम्झौताले थप सहयोग गर्नेछ ।’
साकार कृषि सहकारी संस्था लिमिटेड २०६८ सालमा स्थापना भएको सहकारी हो । यसले बाँकेको राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिका, नेपालगन्ज उप–महानगरपालिका, डुडुवा गाउँपालिकामा आफनो सेवा विस्तार गरेको छ । खजुरा गाउँपालिकामा सेवा विस्तारको लागि स्वीकृत पाएको छ ।
बाँकेमा किसानहरुलाई व्यवसायिक कृषि क्षेत्रमा लाग्नको लागि साकार कृषि सहकारी संस्थाले बजारीकरण र प्रविधिमा सहयोग गर्दै आएको छ । हाल साकार कृषि सहकारीमा ७ हजार सेयर सदस्य रहेका छन् ।