जगदुल्ला हाइड्रोपावरमा सम्झौता विपरीत कार्य
Saturday, April 15th, 2023, 5:22 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, २ वैशाख
निर्माणधिन जगदुल्ला हाइड्रो पावर कम्पनीले सम्झौता विपरीत कार्य गर्न थालेपछि स्थानीय स्तरबाट विरोध भएको छ । हाइड्रो पावर कम्पनीले स्थानीयसँग गरेको सम्झौता विपरीत मनपरी रुपमा काम गर्न थालेपछि निर्माणस्थलका स्थानीयहरुले वडा अध्यक्षको अध्यक्षतामै गाउँभेला गराएर निर्माण कार्य रोक्ने निर्णय गरेका हुन् ।
मुड्केचुला गाउँपालिका–४ ईलमा निर्माणधिन हाइड्रोपावर कम्पनीका आयोजना प्रमुख सन्जय सापकोटाको निर्देशनमा स्थानीयलाई बेवास्ता गर्दै निर्माण कम्पनीमा सम्झौता विपरीत बाहिरबाटै कर्मचारी नियुक्ति लगायत मुअब्जा वितरणमा समेत चलखेल भएको स्थानीयको आरोप छ ।
जगदुल्ला हाइड्रोपावर कम्पनीले निर्मार्ण कार्य थालनी गर्नु पुर्व पालिका अध्यक्ष दत्तबहादुर शाही तत्कालिन वडाअध्यक्ष जगबहादुर बुढा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटा र कम्पनीका आयोजना प्रमुख सन्जय सापकोटा बीच भएको सम्झौतामा आयोजना प्रभावित क्षेत्रका जनतालाई रोजगारी लगायतका अन्य सुविधा दिंदा पहिलो प्राथमिकतामा राखिने उल्लेख भएको थियो ।
तर गाउँलेसंग भएको सम्झौता विपरीत कम्पनीले कार्य गरेपछि वडाअध्यक्ष कृतिबहादुर बुढाको अध्यक्षतामा बसेको गाउँभेलाको बैठकले स्थानीयको ब्यवस्थापन नहुनुका साथै कर्मचारी नियुक्ति गर्दा समेत गोप्यरुपमा प्रभावित क्षेत्रभन्दा वाहिरबाटै राजनीतिक सेटिङमा हुने गरेकाले निर्माण कार्य अगाडी बढाउन नदिने निर्णय गर्नु परेको स्थानीयले बताए ।
हामीले बारम्बार गाउँलेसंग भएको सम्झौता अनुसार काम गर्नुहोस कम्पनीमा कर्मचारी नियुक्ति गर्दा होस या मुअब्जा वितरण गर्दा सहकार्य गरेर आपसी समझदारीमा गर्नुहोस भनेर भन्दा पनि कुनै सुनुवाई नगरी मनपरी गर्न थालेपछि बाध्य भएर निर्माण कार्य समेत रोक्ने निर्णय गर्नु परेको वडाअध्यक्ष कृति बहादुर बुढाले बताए ।
गाउँलेभेलाले गरेको निर्णय र माग सहितको प्रेस विज्ञप्तीको बोधार्थ जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड जिल्ला प्रशासन कार्यालय मुड्केचुला गाउँपालिका लगायतलाई समेत दिएर ध्यानाकर्षण गरिएको अध्यक्ष बुढाले बताए ।
स्थानीयले निर्माण कार्य रोक्ने गरेको र सम्झौता विपरीत कम्पनीले कार्य गरेको भन्ने स्थानीयको आरोपमा कम्पनीका आयोजना प्रमुख सन्जय सापकोटाले आफुहरु आयोजनाकै काम विशेषले काठमाण्डौमा भएको जानकारी दिए ।
काम गर्दै जानेक्रममा केहि गल्ती हुनु स्वभाविक भएकाले निर्माण कार्यलाई मुर्तरुप दिन स्थानीयसंग भएको सम्झौता मुताविक काम गर्न आफु तयार रहेको सापकोटाले बताए ।
आयोजनाको सार्वजनिक सुनुवाई समेत काठमाण्डौमा सम्पन्न गरेर आयोजनालाई चाहिने आर्थिक ब्यवस्थापनको लागि बिपिए कार्यमा ब्यस्त रहेकाले केहि दिनमा आयोजनास्थल पुगेर स्थानीयको गुनासो सम्बोधन गरिने र भएका गल्तीलाई सच्याइने समेत सापकोटाले बताए ।