दाङको करिव १४ सय हेक्टर वनमा आगलागीका कारण क्षेती
Saturday, April 22nd, 2023, 8:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
घोराही, ९ बैशाख
मानवीय लापरवाहीले गर्दा दाङमा वर्षेनी हजारौँ हेक्टर वन डढेलोका कारण खरानी हुने गरेको छ । डिजिभन वन कार्यालय दाङका अनुसार बैशाखयता एक हप्तामा १४ सय हेक्टर वन डढेलो लागेर खरानी भएको छ । दाङ र देउखुरी उपत्यकामा रहेका वन क्षेत्रमा डढेलोका कारण वर्षेनी ठूलो मात्रामा क्षति हुने गरेको छ । एक साताको अवधिमा दाङ क्षेत्रमा १८ स्थानमा र देउखुरी क्षेत्रमा २५ बढी स्थानमा डढेलो लागि सकेको छ । जसले दाङ क्षेत्रमा ३ सय ३३ हेक्टर र देउखरी क्षेत्रमा १ हजार १ सय बढी हेक्टर वन डढेलोले खरानी भएको छ । यसको जोखिम अझ बढ्ने देखिएको छ । गत वर्ष दाङमा ६५ स्थानमा डढेलो लागेको थियो ।
डिभिजन वन कार्यालय घोराही र डिभिजन वन कार्यालय देउखुरीले उपलब्ध गराएको तथ्यांक अनुसार जिल्लामा गत वर्ष मात्रै तीन हजार एक सय ७० हेक्टर क्षेत्रमा डढेलो लागेको थियो । एक सातामा भएको डढेलोको क्षतिको यकिन विवरण आउन अझै सकेको छैन । वनजन्य पदार्थ जलेर खरानी हुँदा करौडौँको क्षति भएको अनुमान गरिएको छ । डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीका अनुसार, दाङ क्षेत्रमा रहेको ५७ हजार १ सय ९१ हेक्टर मध्ये ३ सय ३३ हेक्टर वनमा डढेलो लागेको छ । यो क्षेत्रमा ३ सय ८१ वटा सामुदायिक वन रहेका छन् ।
कतिपय सामुदायिक वनले आफ्नो वन क्षेत्रमा लाग्ने डढेलो एक ठाउँबाट अर्को ठाउँमा फैलन नदिन अग्नी रेखा बनाउने काम गरेका छन् । अग्नी रेखामा खसेको पातबाट आगो फैलिन सक्ने जोखिम हुने भएकाले सफा राख्ने गरिएको छ तर डढेलो लागि हालेको खण्डमा भने नियन्त्रणको लागि सामग्री पर्याप्त सामग्री नहुँदा समस्या हुने गरेको छ । डिभिजन वन कार्यालय दाङका अनुसार वितेको पाँच वर्षमा दुई सय ७० पटक डढेलो लागेको छ । डढेलो तीन हजार नौ सय ६५ हेक्टर क्षेत्रफलमा फैलिएको तथ्यांक रहेको छ ।
बितेको पाँच वर्षमा आर्थिक वर्ष २०७६–०७७ मा मात्रै शून्य वन डढेलोको वर्ष घोषित भएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी केसीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७४–०७५ मा २१ स्थानमा डढेलो लागेको थियो । सो वर्ष एक सय २१ हेक्टर वन क्षेत्रमा डढेलो फैलिएको थियो । आर्थिक वर्ष २०७५–०७६ मा ६७ स्थानमा डढेलो लाग्दा तीन हजार ५६ हेक्टर क्षेत्रमा डढेलो फैलिएको थियो । आर्थिक वर्ष २०७७–०७८ मा एक सय ५१ स्थानमा आगो लागेकोमा तीन सय २२ हेक्टरमा फैलिएको थियो ।
आर्थिक वर्ष २०७८–०७९ मा ३१ स्थानमा फैलिएको डढेलो चार सय ६६ हेक्टर क्षेत्रफलमा फैलिएको तथ्यांक छ । डढेलो लाग्ने कारणमध्ये ५० प्रतिशत भन्दा बढी डढेलो मानवीय लापरवाही, असावधानी तथा नियतवश हुने गरेको छ । डढेलोका कारण वन, वातावरण र जैविक विविधतामा धेरै मात्रामा क्षति पुग्ने हुँदा राज्यले यसको नियन्त्रणका लागि वर्षेनी गर्दै आएको लगानी अनुसार नियन्त्रणमा चुनौति थपिँदै गएको छ ।