मलाई अनावश्यक विवादमा पार्न खोजियोः वडा अध्यक्ष रिजाल
Wednesday, April 26th, 2023, 3:50 pm Kalpristha
कालपृष्ठ समाचारदाता नेपालगन्ज, १३ बैशाख
अनावश्यक बहानामा आफुलाई विवादमा पार्न खोजिएको नेपालगन्ज उप–महानगरपालिका–१ वडाध्यक्ष प्रमोद रिजालले बताएका छन् । उनले सार्वजनिक जग्गा हडप्न नपाएको निहुँमा आफुलाई बारम्बार विवादमा पार्न खोजिएको र अनावश्यक लान्छना लाउन खोजेको बताएका हुन् ।
उनले बुधबार पत्रकार सम्मेलन गर्दै वडा नम्बर १ विश्वनाथ टोलमा रहेको सार्वजनिक जग्गा र बाटोको विषयलाई लिएर आफुलाई बारम्बार बदनाम गराउन खोजिएको बताए । आफ्नो क्षेत्राधिकार प्रयोग गरेर सार्वजनिक जग्गा संरक्षण र बाटो विस्तार मात्रै गरेको बताउँदै उनले सार्वजनिक जग्गाको संरक्षण गर्नु आफ्नोे अधिकार क्षेत्रभित्रको कुरा भएको बताए ।
अघिल्लो कार्यकालमा पनि नगरपालीकामा समेत थुप्रै पटक विवाद समाधान गर्ने प्रयास आफुहरुले गरेको जानकारी दिँदै उनले भने,–‘चन्द्रकला उप्रेतीले यसै विषयलाई लिएर भएजतिका पार्टी कार्यालय, मानव अधिकार आयोग लगायतका स्थानसम्म पुगिसक्नुभएको रहेछ । मलाई प्रधानमन्त्रीको पिएको सम्म फोन आयो । राष्ट्रिय मानव अधिकार आयोगबाट, विभिन्न पार्टी कार्यालयबाट समेत फोन आईसकेको छ । अब भन्नुस मैले क–कसलाई जवाफदिने ।’
उप्रेतीले सार्वजनिक जग्गा हडप्न नपाएकै झोकमा दोलखा देखिका मान्छे बोलाएर वडा कार्यालयमै पनि हुलहुज्जत गरेको उनले बताए । आफुहरुले थप्र्रै पटक विवाद समाधानको प्रयास पछि पनि विवाद समाधान नहँुदा अदालतले देखाएको बाटोमा आफुहरु जाँदा थुप्रै आरोपहरु खेप्नु परेको उनले बताए ।
‘हामीले डोजर लगाउनु अघि १५ दिने सुचना समेत प्रकाशन गरेका थियौं । हामीले जेजति पनि कामहरु गरेका छौ तिँ सबै कानुनको दायरा भित्र रहेर गरेको कामहरु हुन्,’–उनले भने ।
चन्द्रकला उप्रेतीले विश्वनाथ टोलमा रहेको सार्वजनिक जग्गा र नक्सामै बाटोको लागि भनेर छुट्याईएको जग्गा आफ्नो भएको दावि गर्दै आएकी छन् ।
नेपालगन्ज उप–महानगरपालिकाको अघिल्लो कार्यकालमा समेत यो विषय सबैको टाउको दुःखाईको विषय भएको वडा अध्यक्ष रिजालले बताए ।
सो पत्रकार सम्मेलनमा नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उप–प्रमुख कमरुद्दिन राई कर्मचारी तथा टोलवासीहरुको समेत सहभागिता रहेको थियो ।