गाईपालनबाट आत्मनिर्भर बनेकी शारदा
Monday, May 8th, 2023, 7:52 pm
Kalpristha
लक्ष्मी तिमिल्सेना
कोहलपुर, २१ बैशाख
कोहलपुर–१२ चप्परगौडीकी शारदा शर्माको दैनिकी विहान पाँच बजेबाट सुरु हुन्छ । ३४ बर्षीया शर्मा उठ्ने वित्तिकै आफ्नो गोठमा जान्छिन् । गोबर सोत्तर गरेर गाई दुने काम सकुन्जेल साढे छ बजिसकेको हुन्छ । त्यस लगत्तै सुरु हुन्छ गाईलाई कुँडो पकाउने र खुवाउने काम । साना ठुला गरि १६ वटा गाईलाई कुडो खुवाएर घाँस पराल हालुन्जेल विहानको १० बजिसक्छ ।
त्यसपछि खानपिन सकेर उनि फेरि गाईगोठकै धन्धामा फर्किन्छिन् । यति सबै गरिरहँदा उनलाई उनकी ७५ बर्षिया आमा खिमादेवि पौडेल समेत सघाउछिन् । भने, उनले २ जना सहयोगी समेत राखेकी छन् । विगत २१ बर्ष देखि उनको दैनिकी यसरी नै चलिरहेको छ । अहिले उनको गोठमा सातवटा गाईले दुध दिन्छन् ।

..
उनले २०५८ सालमा बर्दियाको खैरापुरबाट १५ हजार रुपैंया हालेर पहिलो पटक गाई पालन सुरु गरेकी थिईन् । सोहि गाईले जन्माएको सन्तानहरु पाँच वटा पुगिसकेपछि उनले २०६८ सालमा विधिवत रुपमा शारदा गाई फार्मका रुपमा दर्ता गरेर गाई पाल्न सुरु गरेको बताउँदै उनले भनिन्,–‘पाल्नै छ भने निर्वाहमुखी मात्रै भन्दापनि व्यवसायीक तरिकाले पाल्नुपर्छ भन्ने लाग्यो र यसैलाई आफ्नो पेशा बनाएँ । अहिले दैनिक रुपमा ३० किलो कुँडो पाक्छ । १२ कठ्ठामा घाँसको खेती छ । भने अहिलेसम्म ७३ वटा गाई बेचेर मात्रै ६८ लाख भन्दा बढि कमाई गरिसकेकी छु ।’
उनको परिवारले पनि गाईपालनमा सघाउदै आएको छ । आफ्नो फार्ममा उत्पादित दुध बेच्न बजारको समस्या छैन । विहान उनको घरमा दूघ लिन आउने ग्राहकले खरिद गरेपछिको बाँकी दूध स्थानीय सहकारीले खरिद गर्ने गर्छ । दुध बेचेरै एक लाख २० हजार बराबरको त उनी मासिक कारोबार गर्छिन् । जसबाट उनी अहिले पनि मासिक ४० हजार रुपैंया बचत मात्रै गर्छिन् । उनले सबै गाईहरुको बिमा समेत गरेकी छन् । भने, आफ्नो फार्मलाई अव विस्तारै प्रविधि मैत्री बनाउदै लैजाने सोचेकी छन् । उनको गोठमा अहिले साईबाल, जर्सी र होलिस्टेन गरि तिन प्रजातीका गाई छन् ।

..
पढाईमा स्नातकोत्तर गरेकी शारदालाई सुरु–सुरुमा गाइ पालेको देख्दा छिमेकीहरुले भन्नुसम्म भनेको उनी बताउछिन् ।
‘पढेलेखेको मान्छे भएर पनि गोबरसोत्तर गर्ने भनेर मलाई आफ्नै छिमेकीले समेत गिज्याउन बाँकी राखेनन् । अँझ कति आफन्तहरुले त मलाइ जागिर खानुपर्छ भन्न घरमै पनि आउनु भयो । तर, अहिले अवस्था फेरिएको छ । अहिले सानोतिनो केहि काम गर्न परेपछि मसित सल्लाह माग्न आउछन् । म जानेजति सिकाउछु पनि ।’
उनले सरकारी तथा गैरसरकारी संस्थाबाट थुप्रै पटक सफल उद्यमी र व्यवसायी पुरस्कार र सम्मान समेत ग्रहण गरिसकेकी छन् । गैरसरकारी संस्था एक्सन एड, जिल्ला युवा समिति बाँके, कोहलपुर नगरपालिकाको तर्फबाट सफल महिला उद्यमी, सिर्जना सहकारी संस्था र अन्य दर्जनौ गैरसरकारी संस्थाबाट सम्मानित भएपछि उनलाई अझ केही गर्नुपर्छ भन्ने दायित्वबोध भएको छ ।
निर्वाहमुखी कृषि कर्म गर्ने साना किसानहरुलाई व्यवसायीक रुपमा कृषि कर्म गर्न उनी सुझाव दिन्छिन् ।‘एउटा पाले पनि उहि दुख हो पाँचवटा पालेपनि उहि दुख हो भने पाँचैवटा पाल्नु फाईदा हो नी । यो गाईसँग सम्बन्धित बिषयमात्रै नभईकन हरेक खालको कृषि कर्ममा यो लागु हुन्छ । यसकारण हाम्रा किसानहरुले अवका दिनमा केहि ठुला र फराकिलो सोच राखेर काम गर्न आवश्यक छ । त्यसकालागि किसानहरुका हकमा राज्यलेपनि सोहि अनुसारको वातावरण सिर्जना गर्न आवश्यक छ ।’

….
लगनशिलता, इमान्दारिता र इच्छाशक्ति भए कमाइका लागि विदेश भौतारिन नपर्ने उनी बताउछिन् । विदेशमा भन्दा राम्रो आर्थिक आम्दानी स्वदेशमै बसेर पनि कमाउन सकिने उनको दावि छ । तर, पछिल्लो पुस्ताले विदेशिनुलाई प्रतिष्ठाको मापन मानिरहँदा राज्यले आफुजस्ता किसानहरुका लागि उपयुक्त निती नल्याउनु र उनिहरुको संरक्षण गर्न नसक्नु दुखद भएको उनले बताइन् ।
‘राज्य न हाम्रा समस्याका बारेमा जानकार छ न त हामीलाई चाहिने प्रविधिका बारेमा जानकार छ । केहि समय पहिले ‘लम्पी स्किन’ भन्ने रोगले मेरा गोठका दुई वटा माउ गाई र तिन वटा बाच्छी मरे । तर, मेरा पाँचवटा पशु मरुन्जेल रोग के हो भनेर पत्ता लगाउन सकिएन । यसको सुनिश्चितता र सहजिकरण त राज्यले गरिदिनुपर्ने हो नि त ।’
राज्यले किसानमैत्री वातावरण तथा किसानलाई सम्मानजनक व्यवहार जबसम्म सिर्जना गर्दैन तबसम्म कृषि क्षेत्रमा सोचेजस्तो र आमजनमानिसले चाहेजस्तो क्रान्ती आउन सक्दैन ।