बाँकेमा अर्गानिक महले पाएन बजार
Thursday, May 11th, 2023, 10:52 pm
Kalpristha
पछिल्लो समय किसानले उत्पादन गरेको मह बिक्री वितरण घटिरहेको छ । कृत्रिम तथा बिदेशी महप्रती उपभोक्ता आकर्षित हुँदा स्थानिय उत्पादित महको बजारीकरण घट्दो अबस्थामा छ ।
रजनी योगी
नेपालगन्ज, २८ वैशाख
नेपालका लागि आवश्यक पर्ने मह नेपालमै उत्पादन हुने गरेको छ । मह स्वास्थ्यका लागि फाइदा जनकसंगै मैन बनाउनमा पनि प्रयोग गरिन्छ । बाँके जिल्लामै पनि यहाँका लागि पुग्दो मात्रामा मह उत्पादन हुने गरेको छ । पछिल्लो समय किसानले उत्पादन गरेको मह बिक्री वितरण घटिरहेको छ । कृत्रिम तथा बिदेशी महप्रती उपभोक्ता आकर्षित हुँदा स्थानिय उत्पादित महको बजारीकरण घट्दो अबस्थामा छ ।

……………
२०६७ सालदेखि मौरी पालन गरिरहेकी कोहलपुर–११ का पुर्मल बस्नेत आफुले उत्पादन गरेको मह बिक्री नहुँदा मौरी पालन व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्थामा आएको बताउँछन् । उनको गोदममा अहिले लगभग १५ क्विन्टलको हाराहारीमा मह बिक्री हुन बाँकी रहेको छ । अझै ५ देखि ७ क्विन्टल मह गत वर्षदेखिकै बाँकी छ । एक वर्षमा करिब २० देखि २५ क्विन्टल मह बस्नेतले उत्पादन गर्दै आएका छन् । अहिले मह बिक्रि गर्न निकै कठिन भएको अनुभव सुनाउँछन बस्नेत । उनले भने, ‘हाम्रा समस्या सबैले सुन्छन् तर अहिलेसम्म कसैले केही गर्न सकेका छैनन् । बजारमा प्रती केजी ६ सयका दरले बिक्रि गर्दा पनि हाम्रो उत्पादित सबै मह एकै वर्षमा बिक्री हुँदैन ।’
अहिले उनले १ सय २५ घारमा मौरी पालन गरेका छन् । उनका अनुसार नेपालका झन्डै २० हजार जति मौरी पालक किसान मध्ये व्यवसायबाट पलायन भई अहिले करिब ५ हजार जति मात्रै बाँकी रहेका छन् । बस्नेत भन्छन, ‘आफुले १३–१४ वर्षदेखि गरेको व्यवसाय छोड्नुपर्ने बाध्यता छ, छोड्न पनि पीडा छ नछाड्ने हो भने पनि पिडा छ । विभिन्न अखाद्य महले बजार छ्यापछ्याप्ती भरिएको छ, केही कम मुल्य पाएको भरमा हाम्रा उपभोक्ता उतैतिर तानिनुभएको छ ।’
लगानी अनुसारको प्रतिफल नआउँदा मौरी पालक कृषक अहिले मर्कामा परेका छन् । किसानले गरेको मिहिनेत नेपाल सरकार तथा विभिन्न संघ संस्थाले मह उत्पादनमा गरेको लगानी खेर गएको किसानहरु बताउँछन् ।
नेपाल मौरी पालन महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष रहेका कोहलपुर नगरपालिका–६ का मौरी पालक कृषक लिलबहादुर रानाले कोभिड संक्रमणको समयमा महको माग धेरै भएको अनुभव सुनाउँछन । कोरोना फैलिएको समयमा धेरैजसोले मह प्रयोग गरेकाले पनि यसको माग बढेको थियो । अहिले कात्तिकदेखि निकालेको मह गोदाममै थन्किएको रानाले बताए । उनले वर्षमा ३० देखि ४० क्विन्टलसम्म मह उत्पादन गर्छन् । यस वर्ष रानाले करिब ३० क्विन्टल मह उत्पादन गरेका थिए । अहिले रानाको गोदाममा १० क्विन्टल मह बिक्री नभई थन्किएको छ । बिदेशबाट नेपालमा कोन सिरक (मकैको रस) र सुगर सिरक(उखुको रस) आयात हुने (जुन मह बनाउन प्रयोग गरिन्छ) गर्छ । त्यसमा स्थानीय मह मिसाएर कृतिम मह बनाईन्छ र बजारमा सस्तो दर रेटमा कमिसन दिएर बिक्री गरिन्छ, जसले हाम्रो स्थानीयले उत्पादन गरेको मह बजारीकरणमा समस्या आएको छ । मुल्य कम हुँदा उपभोक्ता पनि सस्तो मुल्यको महमा आर्कषित हुन्छन् ।
नेपाली उपभोक्ताहरुले सस्तो मुल्यका कारण बिदेशी र मिसावट मह प्रयोग गरिरहेका छन जुन स्वास्थवर्धक मानिदैन । राना भन्छन, ‘हामीले हाम्रो स्थानीय उत्पादनको महको महत्वको बारेमा बुझाउन सकेका छैनौं । बिदेशी तथा कृत्रिम मह उपभोक्तालाई पहिचान गराउन सकेका छैनौं जसले गर्दा घाटा ब्यहोर्नुपरेको छ ।’

…………..
मौरीलाई चरनको लागि विभिन्न निकुञ्ज तथा जंगलमा लैजाने गरिन्छ । बर्दिया राष्ट्रिय निकुञ्ज मौरीको चरनको लागि निकै उपयुक्त मानिन्छ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाँके, बर्दिया संगै अन्य विभिन्न ठाउँबाट मौरी चराउन आउने गर्छन् । तर पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ आक्रमण बढेपछि मौरी चराउन निकुञ्जमा पनि लिन सकिएको छैन । मौरी पालक किसानलाई मौरीको चराउने ठाउँको पनि समस्या छ । यसरी जंगलमा चराएर बनाएको मह प्रती केजी ८ सय रुपैयाँमा बिक्री गरिन्छ भने तोरीको मह ६ सय रुपियाँ प्रति केजीमा बिक्री गरिन्छ । तोरी भन्दा जंगलमा चराएर उत्पादन गरिएको मह बढी फाइदाजनक हुन्छ । तोरिको महमा मौरीले तोरीको रस मात्रै लिन पाउँछ भने जंगलमा चराएको मौरीले जामुन, सिसौ, सिमल लगायतको रस लिने हुँदा यसलाई धेरै लाभदायक मानिएको छ ।
किसानको माग अनुसार ५० प्रतिसत अनुदानमा किसानलाई सहयोग गर्ने गरेको कृषि ज्ञान केन्द्र बाँकेका प्राबिधिक सहायक प्रेम बहादुर वलीले बताए । मौरी पालक किसानलाई मह संकलन तथा बिक्रि बितरणको लागि मह प्याकिङ डिब्बा र बजारीकरणको लागि बाल्टिहरु बितरण गरिएको कोहलपुर नगरपालिका कृषि शाखा प्रमुख चन्द्र बहादुर बुढाले बताए । बाँकेमा अहिले ३० देखि ३५ जनाले मौरी पालन गरिरहेका छन भने व्यवसायिक रुपमा १० देखि १५ जनाले मैरी पालन गर्छन् ।
मह प्रयोगबाट हामीले कार्बोहाईड्रेट, प्रोटिन, भिटामिन बि र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम,फस्फोरस,सोडियम जस्ता तत्व पाउने हुनाले महलाई निकै लाभदायक मानिन्छ । व्यवसायिक रुपमा मौरी पालन गर्ने किसानलाई स्थानीय सरकारले प्राविधिकसँगै बजारीकरणमा सहयोग गर्ने वातावरण निर्माण भए यसमा अन्य किसानहरु पनि आर्कषित हुने देखिन्छ । तर किसानहरुले यसको बजारीकरणमा विशेष ध्यान दिएर काम गर्न सके बाँके र बर्दियामा व्यवसायिक रुपमा मौरी पालनबाट किसानले राम्रो आर्थिक उन्नती गर्न सक्ने सम्भावना देखिन्छ ।