जुम्लाको नाग्मा पार्क निर्माणमा भ्रष्टाचार
Sunday, May 28th, 2023, 9:46 pm
Kalpristha
तिला गाउँपालिका नाग्मा पार्क उद्यान निर्माणमा कम काम गरी प्राविधिकसँग मिलेर कार्य सम्पादन मुल्याकन पुरा भएको देखाई उपभोक्ता समिति र प्राविधिकहरु मिलेर बिल भरपाई गरेको आरोप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालले आइतबार विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ जेठ
जुम्ला तिला गाउँपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिृकत हरिशचन्द्र नेपाली सार्की, इन्जियनियर, निर्माण उपभोक्ता समिति अध्यक्ष सहित ६ जनालाई वास्तविक काम भन्दा धेरै काम गरेको प्रतिवेदन तयारी गरी गैरकानुनी लाभ लिएर भ्रष्टाचार गरेको आरोप लागेको छ ।
तिला गाउँपालिका नाग्मा पार्क उद्यान निर्माणमा कम काम गरी प्राविधिकसँग मिलेर कार्य सम्पादन मुल्याकन पुरा भएको देखाई उपभोक्ता समिति र प्राविधिकहरु मिलेर बिल भरपाई गरेको आरोप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालले आइतबार विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।
उक्त निर्माण कार्यमा सरकारी रकमको चरम दुरुपयोग भएको भनेर अख्तियारमा उजुरी निवेदन परेको थियो । उजुरीका आधारमा अनुसन्धान गर्दा तत्कालिन प्रशासकीय अधिकृत सार्की, इन्जियनियर रोकाय, सव–इन्जिनियर प्रेम बहादुर बस्नेतले आर्थिक वर्ष २०७५–०७६ को तिला गाउँपालिका वडा नम्बर १ स्थित नाग्मा पार्क उद्यान निर्माण योजनामा स्वीकृत गरेको लागत अनुमान बमोजिम सम्पुर्ण कार्य नभएको अवस्थामा कार्यसम्पन्न भएको रिर्पोट तयार पारेका थिए ।
तर स्थलगत रुपमा नापजाँच गर्दा कम काम भएको कार्यलाई बढी गरेको भनेर प्राविधिक मुल्याकन सहितको नापी किताव तयार गरी कार्य सम्पन्न प्रतिवेदन समेत दिई भुक्तानीको लागि सिफारिस गरिएको थियो । सोहि सिफारिस बमोजिम भुक्तानी टिप्पणी र आदेश भएर ५ लाख ४५ हजार ४ सय १९ रुपैयाँ २४ पैसा उपभोक्ता समितिलाई भुक्तानी दिइएको थियो ।
उक्त कार्यमा संलग्न प्रशासकिय अधिकृत सार्की, रोकाय र बस्नेतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) खण्ड (ग) र (ङ) बमोजिम कसुर गरेको भन्दैं उनीहरुलाई बिगो स्वरुप भुक्तानी लिएको ५ लाख ४५ हजार ४ सय १९ रुपैयाँ २४ पैसा कायम गर्न पर्ने भन्दैं अख्तियारले मुद्दा दायर गरेको छ । यसैगरी सोहि ऐनको दफा ८ को उपदफा(१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी निजहरुबाट बिगो असुल उपर हुनु पर्ने अख्तियारले दाबी गरेको छ ।
नाग्मा पार्क तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्द बहादुर बुढा, सचिव अर्जुन बुढा र कोषाध्यक्ष दिलधरा दमाईले नाग्मा पार्क तथा उद्यान निर्माणको लागि तिला गाउँपालिका र उपभोक्ता समिति बिच आर्थिक वर्ष २०७५–७६ को तिला गाउँपालिका वडा नम्बर १ स्थित नाग्मा पार्क उद्यान निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।
तर उक्त योजना सम्झौता पत्रमा उल्लेख गरिए अनुसार भएको थिएन् । प्रतिवेदनमा कार्य सुरु गरी निर्माण कार्य सम्पन्न भएको भनी कार्यसम्पादन प्रतिवेदन, विल भरपाई, डोरहाजिरी लगायतका कागजात पेश गरेको तर सर्त अनुसार काम नगरेको आरोप लागेको छ । सम्झौता बमोजिम काम नगरी कार्य भएको भन्दा बढी मुल्याकन गराएको भन्दैं उपभोक्ता समितिका पदाधिकारीलाई पनि भ्रष्टाचार गरेको आरोप लागेको छ ।
उपभोक्ता समितिका पदाधिकारीले पनि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा(४) बमोजिम कसुर गरेको हुँदा ५ लाख ४५ हजार ४ सय १९ रुपैयाँ २४ पैसा बिगो कायम गरी सोहि ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगो माग राख्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।