प्याज , स्याउ र आलुमा पनि लाग्यो भ्याट
Wednesday, May 31st, 2023, 7:37 pm
Kalpristha
कालपृष्ठ डेस्क
काठमाडौं, १७ जेठ
सरकारले बजेटसँगै सार्वजनिक भएको आर्थिक विधेयक–२०८० मार्फत आधारभूत आवश्यकता र दैनिक उपभोग्य वस्तुहरुमा समेत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ । केही तरकारी र फलफूलसहित मट्टीतेलमा समेत भ्याट लगाएको छ ।
तरकारीतर्फ सरकारले आलु र प्याज (हरियोबाहेक) मा भ्याट लगाएको छ भने फलफूलतर्फ स्याउ, एभोकाडो, किबी, ऐंसेलु, श्रीफल, चेरी, स्ट्रबेरी, ब्ल्याकबेरी र हलुवाबेदमा भ्याट लगाएको छ । त्यस्तै फ्रोजन गरिएका आलु, कोसे तरकारी, केराऊ, बोडी, सिमी, पालुँगो, गुलियो वा स्वादिलो मकैसमेतमा भ्याट लाग्ने व्यवस्था आर्थिक विधेयकले गरेको छ । यसअनुसार कफी र किसमिसमा पनि भ्याट लागु गरिएको छ ।
त्यस्तै, फ्रोजन मासु तथा माछामा पनि भ्याट लाग्ने बनाइएको छ । त्यस्तै डिजेल र पेट्रोलमा पहिलेदेखि भ्याट लाग्दै आएकोमा मट्टीतेलमा पनि कर लाग्ने व्यवस्था गरिएको छ । अब ऊन, धागोलगायत वस्तुमा पनि भ्याट लाग्नेछ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले १ सय ६७ वस्तुहरुमा भ्याट लगाउने घोषणा गरेका थिए । अब यस्ता वस्तु खरिद गर्दा पनि उपभोक्ताले थप १३ प्रतिशत कर तिर्नुपर्ने छ ।
यसअघि भ्याट छुट दिइएका कृषिमा प्रयोग हुने सेमी ट्रेलर र ट्याक्टरमा पनि भ्याट लगाइको छ । अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने गरी बनाइएको स्कुटर, कमोड चियर, फर्निचर र तिनका पार्टपूर्जाहरू, वाकरमा समेत भ्याट लाग्ने बनाइएको छ । हवाई यात्रामा भ्याट लगाइएकाले त्यो पनि महँगो हुन सक्नेछ । तर, हवाई कम्पनीहरु भ्याटमा दर्ता हुने भएकाले कर फिर्ता लिन पाउँछन् । ढुवानी साधनको भाडा र ढुवानी सेवामा पनि भ्याट लाग्नेछ ।